हेब्रिडीसको जागृति

स्कटल्यान्डको हेब्रिडीसका टापुहरूमा सन्‌ १९४९ तिर मण्डलीहरू सुक्खा हुँदै गइरहेका थिए, मानिसहरू विलासितामा रमाइरहेका थिए । मण्डलीहरूमा वृद्ध- वृद्धा मात्र सेवामा सहभागी हुन्थे, र आराधना सेवा चासोहीनको हुँदै गइरहेको थियो । यो मण्डलीहरूको अवस्थाले अरू कतिलाई प्रभाव पार्‍यो भनी थाहा भएन तर दुई जना वृद्धा दिदी-बहिनीहरूलाई गहिरो रूपमा प्रभाव पार्‍यो ।

हेब्रिडीसको लुविस टापुको एउटा गाउँ बार्वसमा सडकको छेउमा एउटा सानो कुटीमा दुई वृद्धा महिला पेग्गी र क्रिस्टिन स्मिथ बस्नुहुन्थ्यो । उहाँहरू चौरासी र बयासी वर्षको हुनुहुन्थ्यो । पेग्गी अन्धो हुनुहुन्थ्यो र उहाँकी बहिनी गठियावात रोगले कुप्रो पर्नुभएको थियो । मण्डलीको सङ्गतिमा उपस्थित हुन नसक्दा उहाँहरूको सानो कुटी नै एउटा पवित्रस्थान बनियो । उहाँहरूले जागृतिको लागि प्रार्थना गर्न थाल्नुभयो । उहाँहरूलाई परमेश्वरले यो प्रतिज्ञा दिनुभयो: “म तिर्खाएको मानिसमाथि पानी खन्याउनेछु, र सुक्खा भूमिमा बाढीहरू चलाउनेछु ।” (टी.बी.एस.) यो प्रतिज्ञालाई पक्रेर उहाँहरूले दिनरात प्रार्थनामा अन्तर्बिन्ती गर्नुभयो ।

एल्डरहरूको समूहले यो अवस्थालाई गम्भीरताका साथ लिन र प्रभुमा फर्कने मण्डलीहरूमा सूचना गर्ने निर्णय गर्‍यो, र मण्डलीहरूमा सूचना दिन सुरु गर्‍यो। यो सूचना स्थानीय पत्रिकामा पनि छापिए ।

डन्कन क्याम्पबेलले पछि यसबारे यसो भन्नुभएको थियो: “म अब विश्वास गर्छु कि ती दुई दिदी-बहिनीहरूको प्रार्थनाले लुविसको एल्डर समूहलाई केही गर्न उत्प्रेरित गर्यो।”

मण्डलीहरूमा जागृति आउँदैछ र मण्डली फेरि पनि युवाहरूको भीडले भरिनेछ भन्ने प्रकाश पेग्गीले एक रात पाउनुभयो । उहाँले रेभ. जेम्स मुर्रे म्याकेलाई बोलाइपठाउनुभयो, र परमेश्वरले उहाँलाई देखाउनुभएको कुरा बताउनुभयो । उहाँतिर फर्केर जेम्सले भन्नुभयो, “हामीले के गर्नुपर्छ जस्तो तपाईँलाई लाग्छ?” पेग्गीले भन्नुभयो, “आफूलाई प्रार्थनामा दिनुहोस्; आफैलाई परमेश्वरको प्रतीक्षा गर्न दिनुहोस् । तपाईँका एल्डरहरू र डिकनहरूलाई सँगै लैजानुहोस् र हप्तामा कम्तीमा दुई रात प्रार्थनामा परमेश्वरलाई पर्खनुहोस् । यदि तपाईँले तपाईँको मण्डलीको पक्षबाट त्यसो गर्नुहुन्छ भने, मेरी दिदी र म रातको दश बजेदेखि बिहान दुई वा तीन बजेसम्म हाम्रो सङ्गतिको पक्षबाट प्रार्थनामा पर्खिनेछौँ ।”

यसैले रेभ. जेम्सले आफ्ना एल्डर र डिकनहरूलाई बोलाए र धेरै महिनासम्म तिनीहरू एउटा कटेरोमा परालको बीचमा परमेश्वरको पर्खाइमा बसे । यस समयमा तिनीहरूले एउटा प्रतिज्ञालाई दाबी गरे, “म तिर्खाएको मानिसमाथि पानी खन्याउनेछु, र सुक्खा भूमिमा बाढीहरू चलाउनेछु; म तिम्रो वंशमाथि मेरो आत्मा, र तिम्रा सन्तानहरूमाथि मेरो आशिष् खन्याउनेछु” (यशैया ४४:३) । यो कम्तीमा तीन महिना चल्यो । केही भएन ।

एक रात तिनीहरूले परमेश्वरको उपस्थितिमा पर्खिरहेका बेला एक जवान डिकन उठे र भजनसंग्रह २४ बाट पढे: “परमप्रभुको डाँडामा को उक्लन सक्ला? र उहाँको पवित्रस्‍थानमा को खडा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन । त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ ।” अरूहरूतिर फर्केर उनले भने: “दाजुभाइहरू, यदि हामीले परमेश्वरसँग सही तरिकाले सम्बन्ध राखेका छैनौँ भने हामीले अहिले गरिरहेको जस्तै पर्खनु र प्रार्थना गरिरहनु मलाई धेरै छल गरेको जस्तो लाग्छ ।” त्यसपछि स्वर्गतिर हात उचालेर कराए: “हे परमप्रभु, के मेरा हातहरू सफा छन्? के मेरो मन शुद्ध छ?” त्यसपछि उनी अगाडि बढेनन्‌, तर घोप्टो परे र ध्यान-मग्न भए । परमेश्वरको उपस्थितिको चेतनाले गोठ भरियो र अलौकिक शक्तिको धारा तिनीहरूको जीवनमा बग्न थाल्यो । तिनीहरू जागृतिको प्रतिज्ञामा बिनाशङ्का विश्वास गर्दै परमेश्वरको अनुभूतिको नयाँ क्षेत्रमा प्रवेश गरे ।

रहल कुरालाई डन्कन क्याम्पबेल, जसलाई यो जागृतिलाई नेतृत्व गर्न परमेश्वरले प्रयोग गर्नुभएको थियो, यसरी भन्नुहुन्छ:
“अहिले म त्यो टापुमा थिइनँ । म अर्को क्षेत्रमा थिएँ, जब मलाई दस दिनको लागि लुविसको बार्वसमा आउन निम्तो आयो, मैले अन्य सभाहरू तय गरेको थिएँ र अर्को वर्षको लागि मेरो क्यालेन्डरमा बार्वस राख्नेछु भनेर जवाफ लेखेँ । यद्यपि मैले बताउन आवश्यक नठानेका परिस्थितिहरूले मेरा अन्य सभाहरू रद्द भए, र मलाई अनुरोध गरेअनुसार टापुहरूमा जानु सम्भव देखेँ । डुङ्गाबाट आइपुग्दा मलाई मण्डलीका सेवक र उनका एक जना पदाधिकारीले भेटे । मैले किनारामा पाइला टेक्ने बित्तिकै पदाधिकारी मेरो छेउमा आएर भने, “श्रीमान्‌ क्याम्पबेल, म तपाईँलाई एउटा प्रश्न सोध्न सक्छु? के तपाईँ परमेश्वरसँग हिँड्दै हुनुहुन्छ?” “म यो कुनै पनि हालतमा भन्न सक्छु, कि म परमेश्वरसँग डराउँछु,” भनेर जवाफ दिन पाउँदा खुसी भएँ ।

तिनीहरूले मलाई त्यो रात नौ बजे सुरु हुने छोटो सभामा मण्डलीमा प्रचार गर्ने प्रबन्ध मिलाइदिएका थिए। यो एक उल्लेखनीय सभा थियो। हामी आठ पैँतालिसमा मण्डलीमा गयौँ। करिब तीन सय जना मानिसहरूको जमघट देखेँ । सेवाको समयमा वास्तवमा केही भएन। त्यो एउटा असल सभा थियो । परमेश्वरको उपस्थिति र उहाँको आत्माको प्रभाव महसुस गर्न सकिन्थ्यो, तर त्योभन्दा बढी केही भएन। त्यसैले मैले अन्तिम आशिष्‌ बोलेँ, र हामीले मण्डली छोडेर निस्किन थाल्दा पौने एघार भएको थियो। दुई घण्टाको सेवा – लुविसमा त्यो केही होइन।

कटेरोमा भजनसंग्रह २४ पढेका जवान डिकनसँग म मण्डलीको भित्री कोरिडोरमा हिँडिरहेको थिएँ, उनी अचानक कोरिडोरमा उभिए र स्वर्गतिर हेरे र भने, “हे परमेश्वर, तपाईँले हामीलाई त्याग्न सक्नुहुन्न। हे परमेश्वर, हामीलाई त्याग्न सक्नुहुन्न। तपाईँले ‘तिर्खाएको मानिसमाथि पानी खन्याउनेछु, र सुक्खा भूमिमा बाढीहरू चलाउनेछु,’ भनी प्रतिज्ञा गर्नुभएको छ। हे परमेश्वर, तपाईँले हामीलाई त्याग्न सक्नुहुन्न!”

उनको छेउमा उभिएर मैले आफूलाई आफूभन्दा परमेश्वरलाई राम्ररी चिनेको मानिसको उपस्थितिमा भेट्टाएँ। मैले भनेँ “मेरा प्रिय मानिसहरू, हामी इमानदार हुनुपर्दछ, यहाँ एक जवान मानिस हुनुहुन्छ, जसले म भन्दा राम्रोसँग परमेश्वरलाई चिन्नुहुन्छ, सायद मैले नजानेको तरिकामा।” चाँडै उनले त्यहीँ ठाउँमा घुँडा टेकेर प्रार्थना गर्न सुरु गरे, र त्यसपछि उनी ध्यान-मग्न भए। अहिले एघार बजिसकेको थियो। मण्डलीको ढोका खुल्यो, र स्थानीय लोहार फेरि मण्डलीमा आए र भने, “श्रीमान् क्याम्पबेल केही अचम्मको घटना भएको छ। अहो, हामीले ‘तिर्खाएको मानिसमाथि पानी खन्याउनुहोस्‌, र सुक्खा भूमिमा बाढीहरू चलाउनुहोस्‌ भनी प्रार्थना गरेका थियौँ। उहाँले त्यसो गर्नुभयो! उहाँले त्यसो गर्नुभयो!”

जब म मण्डलीको ढोकामा पुगेँ, मैले लगभग ६०० जना मानिसहरूको भीड भेट्टाएँ। छ सय जना मानिसहरू – कहाँबाट आए ? के भयो? म विश्वास गर्छु कि परमेश्वर त्यो रात पेन्‍तिकोसको शक्ति सँग, पवित्र आत्मा को शक्ति सँग आउनुभयो! प्रेरितहरूको प्रारम्भिक दिनहरूमा के भयो त्यो अहिले बार्वस मण्डलीमा भइरहेको छ।

१०० भन्दा बढी युवाहरू सामाजिक भवनमा नृत्यमा थिए, र तिनीहरूले ईश्वर वा अनन्तताको बारेमा सोचिरहेका थिएनन्। तिनीहरू सबैका विचारहरूमा परमेश्वर हुनुहुन्न थियो। तिनीहरू त्यहाँ आनन्दको साथ रात बिताउन गएका थिए, तर अचानक परमेश्वरको शक्ति नाचमा पर्‍यो। सङ्गीत बन्द भयो, र केही क्षणमै हल खाली भयो। महामारीबाट भाग्ने मानिसजस्तै तिनीहरू हलबाट भागे। अनि तिनीहरू मण्डलीमा आइपुगे।

ओछ्यानमा गएका पुरुष र महिलाहरू उठे, लुगा लगाए, र मण्डलीमा आइपुगे । कुनै पनि विज्ञापन गरिएको छैन। कुनै एक व्यक्तिले दश दिनसम्म श्रृङ्खलाबद्ध सभाहरू सञ्चालन गर्न लागेको सूचना मण्डलीमा दिएको बाहेक कुनै विशेष पहल भएको उल्लेख छैन। कुनै पनि विज्ञापन गरिएको छैन। तर परमेश्वरले मामिलाहरू आफ्नै हातमा लिनुभयो – उहाँ आफै आफ्नो विज्ञापन अभिकर्ता बन्नुभयो। आत्मिक भोक र तृष्णाले मानिसहरूलाई सतायो। तिनीहरूमध्ये छ सय जना अहिले मण्डली बाहिर उभिरहेका छन्।

प्रिय लोहारले भजनसंग्रह १०२ पढ्नुभयो, भीड तुरुन्तै मण्डलीमा फर्कियो, र ८०० जना बस्न मिल्ने त्यस भवनमा त्यो भीडको लागि ठाउँ भएन। एक युवा शिक्षिका आएर चिच्याइन्, “हे परमेश्वर, मेरो लागि दया छ? हे परमेश्वर, मेरो लागि दया छ?” उनी पनि नाच्नेमध्ये एक थिइन्‌। आज उनी नाइजेरियामा मिसनरीको रूपमा काम गर्दैछिन्‌।

यो खबर सुनेपछि भोलिपल्ट राति विभिन्न ठाउँबाट धेरै मानिसहरू विभिन्न सवारी साधनमा मण्डलीमा आउँदै थिए । परमेश्वरको शक्ति त्यसमध्ये एउटा गाडीमा ओर्लियो, र त्यसमा रहेका ७ जना मानिसहरूले त्यस रात महिमित रूपमा उद्धार पाए। परमेश्वरको शक्तिले मण्डलीभरि मानिसहरू घोप्टो परेर दयाको लागि पुकारिरहेका थिए, र त्यो रात परमेश्वरको छुवाइको अनुभव गरेपछि पनि नयाँ गरी नजन्मेको एक जना व्यक्तिलाई पनि म सम्झन सक्दिनँ। जब म बिहान चार बजे मण्डलीबाट निस्किएँ, त्यहाँ सडकको छेउमा धेरै मानिसहरू प्रार्थना गरिरहेका थिए। त्यो रात नयाँ गरी जन्मेका धेरैले आज विदेशी मिसन सेवा गरिरहेका छन्।

मण्डली र मैदानमा:
परमेश्वरको उपस्थिति बार्वसदेखि छिमेकी जिल्लाहरूमा फैलियो। एक दिन बिहान करिब एक बजे मैले नजिकैको मण्डलीमा भीड लागेको छ र म आउनुपर्छ भन्ने खबर पाएँ। म आइपुग्दा, १००० जना बस्न मिल्ने सभाघर खचाखच भरिएको थियो। पवित्र आत्माले बलियो रूपमा काम गर्न थाल्नुभयो। मैले मानिसहरूलाई घुँडा टेकेर दयाको लागि चिच्याइरहेको देखेँ, र मण्डली बाहिर पनि मानिसहरू प्रार्थना गरिरहेको सुन्न सकेँ।

दुई घण्टा पछि मण्डलीबाट बाहिर आउँदा मैले नजिकैको मैदानमा प्रार्थना गरिरहेका ३०० जना मानिसहरूको समूह भेट्टाएँ, जो मण्डलीभित्र आउन सकेका थिएनन्‌ । एउटी वृद्धा महिलाले सभाको कोलाहलको बारेमा गुनासो गरिन्, किनभने उनी सुत्न सकिनन् । एक जना डिकनले उनलाई समातेर हल्लाए र भने, “नारी, तपाईँ धेरै लामो समयसम्म सुतिसक्नुभएको छ!”

त्यहाँ टापुहरूको एउटा क्षेत्र थियो, जहाँ म आएको त्यहाँका मानिसहरूले चाहन्थे, तर मैले निमन्त्रणा स्वीकार गर्न कुनै अगुवाइको महसुस गरिनँ । त्यो अन्धो दिदी पेग्गीले मलाई जान प्रोत्साहन दिनुभयो, र भन्नुभयो, “श्रीमान्‌ क्याम्पबेल, यदि तपाईँ जसरी रहनु पर्ने त्यसरी परमेश्वरको नजिक रहनुभएको थियो भने उहाँले तपाईँलाई पनि आफ्नो रहस्य प्रकट गर्नुहुनेछ ।” म उनको साथ कुटीमा प्रार्थनामा एक बिहान बिताउन सहमत भएँ । हामीले प्रार्थना गर्दा दिदीले भन्नुभयो, “प्रभु, तपाईँले आज बिहान मलाई के भन्नुभयो भनी तपाईँलाई याद छ, कि यो गाउँमा तपाईँले सात जना मानिसहरूलाई उद्धार गर्नुहुनेछ, जो मेरा पिताहरूको मण्डलीमा खम्बा बन्नेछन् । प्रभु, मैले श्रीमान्‌ क्याम्पबेललाई तपाईँको सन्देश दिएको छु र उहाँ यसलाई स्वीकार गर्न तयार छैनन्‌ जस्तो देखिन्छ । हे प्रभु, उहाँलाई बुद्धि दिनुहोस्, किनकि उहाँलाई यसको अत्यन्त जरुरी छ !” प्रार्थना गरिसकेपछि मैले भनेँ “ठीक छ, पेग्गी, म त्यो गाउँमा जान्छु,” । पेग्गीले जवाफ दिनुभयो, “तपाईँले सो गर्नु उत्तम हो! र परमेश्वरले तपाईँलाई एउटा मण्डली दिनुहुनेछ ।”

म जान राजी भएँ। म सात बजे त्यहाँ पुग्दा त्यहाँको एउटा बङ्गलामा करिब चार सय जना मानिसहरू जम्मा भएका थिए । मानिसहरूले बताउन सकेनन् कि यो के थियो जसले उनीहरूलाई मण्डलीमा ल्यायो, यो परमेश्वरको आत्माद्वारा निर्देशित काम थियो । मैले “तर त्यस अज्ञानताका समयहरू परमेश्वरले वास्ता गर्नुभएन, तर अब उहाँले सबै ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्नू भन्ने आज्ञा गर्नुहुन्छ ।” (प्रेरित १७:३०) भन्ने पदबाट केही समय बोलेँ । एक जना सेवकले मलाई रोके र भने, “आउनुहोस्‌, यो हेर्नुहोस् ।” सभा घरको एक छेउमा समुदायका सबैभन्दा कुख्यात व्यक्तिहरू घोप्टो परेर परमेश्वरलाई पुकार्दै थिए । तिनीहरू जम्मा सात जना थिए – पेग्गीले भन्नुभएको सात जना पुरुषहरू त्यहाँ थिए !

छिमेकी टापुको यात्रामा मैले त्यहाँका मानिसहरू धेरै चिसो र कठोर भएको भेट्टाएँ । केही मानिसहरूलाई आउन र प्रार्थना गर्न आह्वान गर्दै विशेष रूपमा डोनाल्ड नामका एक युवकलाई उनीहरूसँगै आउन अनुरोध गरेँ । डोनाल्ड, जो सत्र वर्षका थिए, भर्खरै उद्धार पाएका थिए, र लगभग दुई हप्ता पछि एक पहाडमा पवित्र आत्माको बप्तिस्मा पाएका थिए । । जब हामी त्यो रात मण्डलीमा थियौँ डोनाल्ड भुईँमा आँसु झार्दै अगाडितिर बसिरहेका थिए । मलाई थाहा थियो कि डोनाल्ड परमेश्वरसँग यसरी सम्पर्कमा थिए जसरी म थिइनँ । त्यसैले मैले प्रचार गर्न छोडेँ, र तिनलाई प्रार्थना गर्न आग्रह गरेँ । डोनाल्ड आफ्नो खुट्टामा उठे र प्रार्थना गरे, “हे परमेश्वर, म खुला ढोकाबाट हेर्दैछु जस्तो लाग्छ । म थुमालाई सिंहासनको बीचमा देख्दैछु, मृत्यु र नरकका साँचोहरू उहाँको पट्टिमा देख्दैछु ।” त्यसपछि उनी रोके र रुन थाले । आफूलाई नियन्त्रणमा ल्याइसकेपछि उनले आफ्ना आँखा र हातहरू स्वर्गतिर उठाएर भने, “परमेश्वर, त्यहाँ शक्ति छ । त्यसलाई खोलिपठाउनुहोस्‌!” अनि त्यस क्षणमा परमेश्वरको शक्ति मण्डलीमा झर्‍यो । कोठाको एक छेउमा मानिसहरूले आफ्ना हातहरू उचाले, आफ्नो नजर स्वर्गतिर लगाए र दुई घण्टासम्म त्यही स्थितिमा रहे; यो अवस्थामा दस मिनेटको लागि रहनु पनि गाह्रो हुन्छ, दुई घण्टाको कुरा गर्नै परेन । अर्कोतिर मानिसहरू दयाको लागि कराइरहेका थिए । पाँच किलोमिटर टाढाको एउटा गाउँमा, परमेश्वरको शक्ति गाउँभरि फैलियो र त्यो रात त्यो गाउँमा घरको कोही न कोही उद्धार नपाएको घर सायद थिएन होला ।

जागृतिको विरोध:
जिल्लाको एउटा क्षेत्रमा जागृतिको चर्को विरोध भएको थियो, किनभने मैले पवित्र आत्माको बप्तिस्मालाई उद्धारपछिको छुट्टै र बेग्लै घटनाको रूपमा प्रचार गरेँ । मेरो विरोध गर्नेहरू आफ्नो विरोधमा यति सफल भए कि सभामा थोरै मानिसहरू मात्र आए । एक रात सभा सञ्चालक मकहाँ आए र भने, “अहिले फैलिरहेको अवस्थालाई सच्याउन हामीले गर्न सक्ने एउटै कुरा मात्र छ । हामीले प्रार्थनामा परमेश्वरको पर्खाइमा आफूलाई समर्पण गर्नुपर्छ । मलाई त्यहाँ एक जना किसान छन् भनेर भनिएको छ । हामी उनको घरमा भेट्न सक्छौँ भन्नुभयो । उनी इसाई होइनन्‌ र उनकी पत्नी पनि उद्धार पाएकी छैनन्‌, तर तिनीहरू ईश्वरसँग डराउने मानिसहरू हुन् ।” हामीमध्ये तीस जना जिल्लाका सेवक र एल्डरहरू यस किसानको घरमा भेट्यौँ । मैले धेरै नै गाह्रो महसुस गरेँ । मैले प्रार्थना गरेँ । सबै सेवकहरूले प्रार्थना गरे । एक जनाले नरकका शक्तिहरू नै विरोधमा आएको जस्तो महसुस गरे । मध्यरातमा म एल्डरहरूमध्ये एक जनातिर फर्केँ र उहाँलाई भनेँ, कि मलाई लाग्छ, कि उहाँले परमेश्वरलाई पक्रिने समय आएको छ । त्यो मानिस आफ्नो खुट्टामा उठ्नुभयो र लगभग आधा घण्टा प्रार्थना गर्नुभयो । (निस्सन्देह, तपाईँले याद गर्नुपर्दछ कि हामी जागृतिमा थियौँ, र जागृतिको बेलामा समय भन्ने कुरा नै छैन । कसैले पनि घडी हेरिरहेको थिएन ।) उहाँ रोक्नुभयो, आफ्नो हात स्वर्गतिर उठाएर भन्नुभयो, “हे परमेश्वर, के तपाईँलाई थाहा छ कि तपाईँको इज्जत खतरामा छ भनी? तिर्खाएकालाई पानी खन्याउने र सुख्खा जमिनमा बाढी चलाउने भन्ने प्रतिज्ञा दिनुभएको थियो, तर त्यसो गरिरहनुभएको छैन ।”

म आश्चर्यचकित छु कि हामीमध्ये कतिले हाम्रो ओठमा त्यस्ता शब्दहरू लिएर परमेश्वरको नजिक जान सक्छौँ? त्यसपछि उहाँले भन्नुभयो, “यो प्रार्थना सभामा श्रीमान्‌ क्याम्पबेलसहित पाँच जना सेवकहरू छन्, र मलाई थाहा छैन कि तीमध्ये हरेक तपाईँको उपस्थितिमा कहाँ खडा छन् । तर यदि मलाई मेरो आफ्नै हृदयको बारेमा केही थाहा छ भने, मलाई लाग्छ कि म भन्न सक्छु, कि म तपाईँको शक्तिको प्रकटीकरणको लागि तिर्खाएको छु ।” उहाँ फेरि रोक्नुभयो, त्यसपछि ठुलो स्वरमा कराउनुभयो, “हे परमेश्वर, तपाईँको इज्जत खतरामा छ, र म अब तिर्खाएका माथि पानी खन्याउन र सुख्खा जमिनमा बाढी चलाउन चुनौती दिन्छु ।” अनि त्यो क्षणमा ढुङ्गाले बनेको त्यो घर साँच्चै पात झैँ हल्लियो । मैले तुरुन्तै प्रेरितहरूको घटनालाई सम्झेँ, जहाँ तिनीहरूले प्रार्थना गर्दा तिनीहरू भेला भएका ठाउँ हल्लिएको थियो । यो प्यारो मानिसले प्रार्थना अन्त गर्दा मैले आशिष् बोलेँ, बिहान दुई बजेको थियो र बाहिर निस्कँदा सारा गाउँ परमेश्वरले प्रज्वलित भएको भेट्टाएँ । म एउटा घरमा गएँ र भान्सा कोठामा नौ जना महिलाहरू घुँडा टेकेर परमेश्वरलाई पुकारिरहेका देखेँ । त्यो रात उद्धार पाएकी एक जना महिलाले हाम्रो गेलिक भाषामा केही उत्कृष्ट गेलिक भजनहरू लेखेकी छिन् । त्यसपछिको आइतबार दुई माइल टाढादेखि मण्डलीमा आइरहेका मानिसहरूले सडक भरिएको थियो । त्यो गाउँको भट्टी-घर त्यो रात बन्द भयो, र त्यसपछि कहिल्यै खोलिएन । यो परमेश्वरले गरेको काम हो । परमेश्वरले पठाउनुभएको जागृति सधैँ पवित्रताको जागृति हुन्छ । ”

डोनाल्ड: प्रार्थना गर्ने केटा:
सत्र वर्षको उमेरमा उद्धार पाएका डोनाल्ड जागृतिको समयमा एक प्रार्थनाका योद्धा बने। ती दिनहरूमा उनलाई प्रार्थना गर्ने मौका दिइँदा नै आत्माको शक्तिशाली अभिषेकहरू खन्याइए।

बार्वसमा एक रात परमेश्वरको उपस्थितिले मानिसहरूलाई प्रेरणा दिन थाल्यो। परमेश्वरको छुवाइको महसुस गरेकाहरू प्रहरी चौकीमा थुप्रिन थाले, किनभने प्रहरी चौकीका एक प्रहरी असल तरिकाले उद्धार पाएको र ईश्वरको डर मान्ने व्यक्ति थिए। पेग्गीको कुटी पनि त्यहाँ नै थियो। डोनाल्ड क्याम्पबेलसँग त्यहाँ पुगे। सयभन्दा बढी मानिसहरूको भीडमा डोनाल्डले हात जोडेर एउटा मात्र शब्द उच्चारण गरे – “बुवा!” तुरुन्तै परमेश्वरको उपस्थिति शक्तिशाली रूपमा त्यो ठाउँमा ओर्लियो, सबै हृदयहरू पग्लिए र भीडले दयाको लागि बिन्ती गर्न थाल्यो। त्यहीँ ठाउँमा धेरै जना परमेश्वरको बगालमा थपिए।

क्यालनिस गाउँमा पापहरूमा मरेकाहरूलाई परमेश्वरको शक्तिले पक्रिउन्जेल उनले प्रार्थना गरिरहे र तिनीहरू त्यहीँ नै परिवर्तन भएर जीवित ईश्वरको मण्डलीमा जीवित ढुङ्गाहरूको रूपमा स्थापित भए ।

उनले एक दर्शन देखिन्:
परमेश्वरले कर्नेलियसको परिवारलाई आशीर्वाद दिनको लागि पत्रुसलाई उनी प्रार्थना गरिरहेको बेला ध्यान-मग्न हुँदा दर्शनको माध्यमबाट आफ्नो उद्देश्य बताउनुभयो । परमेश्वरले लुविसमा पनि यस्तै तरिकाहरू प्रयोग गर्नुभयो । विशेष गरी एउटी युवती बारम्बार ध्यान-मग्न भइन्‌, जुन अवस्थामा उनले खाँचोमा परेकाहरूको बारेमा सन्देशहरू प्राप्त गरिन्‌ र त्यो सन्देश डन्कनलाई पठाइयो ।

एक रात डन्कन स्टोर्नोवेमा हुनुहुन्थ्यो, जब यस केटीले बीस माइल टाढा आत्माको पीडामा भएकी एक महिलालाई दर्शनमा देखिन्‌ । डन्कनलाई थाहा भयो कि आफू गएर त्यो महिलालाई भेट्नुपर्छ, र आफ्नो आराम वा सुरक्षाको लागि कुनै विचार नगरी उहाँ मोटरसाइकलमार्फत त्यो गाउँमा पुग्नुभयो र उहाँलाई भनेजस्तै भेट्टाउनुभयो । उहाँले ती महिलासँग बोलेका शब्दहरूले छुटकारा ल्यायो, र समस्यामा परेकी महिलालाई मुक्तिदातासँग परिचय गरायो ।

यस केटीले ध्यान-मग्न भएपछि पाउने आफ्नो दर्शनमार्फत दिएको एउटा सन्देश पनि गलत साबित भएन । यो जागृतिको एक पक्ष थियो, जसलाई डन्कनले प्रोत्साहन गर्नुभएन, न त व्याख्या गर्ने प्रयास गर्नुभयो । तर उनले यो परमेश्वरको हो भनेर स्वीकार गर्नुभयो, र यसमा हस्तक्षेप गर्न अस्वीकार गर्नुभयो, यसलाई सैतानी गतिविधिसँग तुलना गर्नेहरूलाई तिनीहरू खतरनाक रूपमा अक्षम्य पापको नजिक आउँदैछन् भनी चेतावनी दिनुभयो ।

प्रार्थना गर्ने कसाई:
डन्कनले प्रार्थना गर्ने मानिसहरूलाई भेट नगरी टापु छोड्नुहुन्न थियो, जो उहाँको लागि जागृतिमा धेरै महत्त्वपूर्ण मानिसहरू थिए, र जससँग उहाँको घनिष्ठ आत्मीयता थियो । सुदूर उत्तरीय-पश्चिमी टापुमा रहेका तिनीहरूको विवेक र विश्वव्यापी दर्शन देखेर उहाँ छक्क पर्नुभयो ।

प्रार्थना गर्नेहरूमध्ये एक जना कसाईलाई भेट्न डन्कन बार्वसमा रहेको उहाँको घरमा आइपुग्नुभयो, र त्यो व्यक्तिले गोठमा ग्रीस राष्ट्रको लागि प्रार्थना गरिरहेको सुन्नुभयो । लुविस टापुको एक कसाईको ग्रीसमा कस्तो चासो हुन सक्छ भनेर डन्कनले बुझ्न सक्नुभएन । उहाँले पछि सोध्नुभयो, “तपाईँले आज कसरी ग्रीसको लागि प्रार्थना गर्न सुरु गर्नुभयो? के तपाईँलाई थाहा छ ग्रीस कहाँ छ?” कसाईले जवाफ दिनुभयो: “होइन श्रीमान्‌ क्याम्पबेल, तर परमेश्वर जान्नुहुन्छ, र उहाँले मलाई आज बिहान ग्रीसको लागि प्रार्थना गर्नु भन्नुभयो!”

दुई वर्ष पछि डन्कनको डब्लिनमा एक व्यक्तिसँग परिचय भयो, जसले डन्कनलाई निम्न कुरा भन्नुभयो । उहाँ व्यापारको यात्रामा ग्रीस जानुभएको थियो र इसाईहरूको सभामा बोल्न उहाँलाई आग्रह भयो । परमेश्वरको आत्माले यति शक्तिशाली काम गर्नुभयो कि उहाँले केही हप्तासम्म प्रचार गर्न जारी राख्नुभयो, र आयरल्यान्डमा आफ्नो भाइलाई फोन गरेर उहाँ नआउन्जेल व्यापारको हेरचाह गर्न निर्देशन दिनुभयो । डन्कनले घटनाका मितिहरू तुलना गर्नुभयो र पत्ता लगाउनुभयो कि ग्रीसमा त्यो व्यक्तिले बताएको जागृति त्यही दिनबाट सुरु भएको थियो, जुन दिन बार्वसमा कसाईले ग्रीसको लागि प्रार्थना गरिरहनुभएको थियो !

जागृतिको परिभाषा : डन्कन क्याम्पबेल:
“पहिले म तपाईँलाई जागृति भन्नाले के हो भनी भन्न चाहन्छु । सुसमाचार प्रचार अभियान वा विशेष सभा जागृति होइन । सफल सुसमाचार प्रचार अभियान वा विशाल सुसमाचारीय कार्यक्रममा येशू ख्रीष्टलाई पछ्याउने निर्णय गर्ने सयौँ वा हजारौँ मानिसहरू हुनेछन्, तर स्थानीय समुदायले परमेश्वरको छुवाइको अनुभव गरेको हुँदैन, र मण्डलीहरू त्यो सेवा हुनु अघि जस्ता थिए त्यसरी नै चलिरहन्छन्‌ । तर जागृतिमा परमेश्वर जिल्ला(क्षेत्र)भरि नै परिभ्रमण गर्नुहुन्छ । अकस्मात् समुदायमा परमेश्वरको चेतना फैलिन्छ । परमेश्वरको आत्माले पुरुष र महिलाहरूलाई यसरी पक्रनुहुन्छ कि मानिसहरूले आफूलाई परमेश्वरको पर्खाइमा समर्पण गर्दा उनीहरूको कामहरू पनि त्यागिन्छन्‌ ।”

स्वर्गले पठाउने जागृतिको लागि मूल्य कहिल्यै परिवर्तन भएको छैन । पवित्र आत्माको विश्वासको बाढी हेब्रिडीसका टापुहरूमा फैलिनु अघि शक्तिशाली मानिसहरूको हृदयहरू परमेश्वरको अगाडि भाँचिएका थिए, महिनौँसम्म रातका धेरै घण्टाहरूसम्म प्रार्थनामा पीडामा परेका थिए । यसो गर्नको लागि घर र कामको बाबजुद यी मानिसहरूले परमेश्वरको अगाडि पर्खन समय निकाल्नु परेको थियो!

यो सायद आजको सबैभन्दा ठुलो समस्या हो । कामलाई सजिलो बनाउन हामीसँग जीवनका सबै आधुनिक विलासिताहरू छन्, तैपनि हामी प्रार्थना गर्न समय निकाल्न सक्दैनौँ! कस्तो दुःखद विरोधाभास!

हामी प्रसवपीडाको नक्कल गर्नुमा सिपालु भयौँ होला, तर त्यसो गरेको भरले मात्र बच्चा जन्मँदैन । आज हामी जागृतिको नक्कल गर्नुमा चाहिँ सफल भएका छौँ, किनभने सो गर्न मूल्य चुकाउनु पर्दैन र साँचो जागृतिको मूल्य महँगो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *