ग्राहम स्टुअर्ट स्टेन्स
जन्म | : सन् १९४१-०१-१८ |
जन्म स्थान | : अस्ट्रेलिया |
दर्शन स्थल | : उड़ीसा, भारत |
निधन | : सन् १९९९-०१-२३ |
ग्राहम स्टुअर्ट स्टेन्स विलियम र एलिजाबेथ स्टेन्सको दोस्रो सन्तान हुनुहुन्थ्यो। पन्ध्र वर्षको उमेरमा उहाँले भारतमा कुष्ठरोगबाट पीडितहरूको दुर्दशाको बारेमा भ्रमणमा आएका एक जना मिसनरीको प्रचार सुन्नुभयो। दृश्यहरूबाट उत्प्रेरित स्टेन्सले भारतमा कुष्ठरोगीहरूको सेवा गर्न आफ्नो जीवन अर्पण गर्ने निर्णय गर्नुभयो। त्यसको केही समयपछि उहाँ मिसनहरूको एउटा सभामा उपस्थित हुनुभयो, जहाँ उहाँ आफ्नो मिसनरी सेवाको बोलावटको बारेमा निश्चित हुनुभयो।
उहाँ इभान्जेलिकल मिसनरी सोसाइटी अफ मयुरभञ्जमा सामेल हुनुभयो, जसले उहाँलाई भारतको ओडिशाको आदिवासी क्षेत्रमा काम गर्न खटायो। उहाँ सन् १९६५ मा भारत आउनुभयो र कुष्ठरोगबाट पीडित मानिसहरूको दुःखद अवस्था देख्नुभयो। प्रेम र प्रतिबद्धताका साथ उहाँले कुष्ठरोगीहरूका बीचमा काम गर्न थाल्नुभयो। ओडिया र स्थानीय बोली संथालीमा सिपालु भएर उहाँले आदिवासी जनजातिहरूलाई येशू ख्रीष्टको प्रेमको प्रचार गर्नुभयो। उहाँले सन् १९८२ मा मयुरभञ्ज कुष्ठरोग गृह पनि स्थापना गर्नुभयो र सन् १९८३ मा बारीपाडामा मिसन व्यवस्थापनको जिम्मा लिनुभयो। स्टेन्सले सन् १९८३ मा एक मिसनरी नर्स ग्लेडिसलाई विवाह गर्नुभयो, जो उहाँको काममा एक उत्तम साझेदार हुनुभयो। उहाँहरू दुवै आदिवासी जनजातिलाई शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न साथै तिनीहरूको सामाजिक विकासको लागि अथक रूपमा परिश्रम गर्नुभयो।
उहाँहरूले हजारौँ मानिसहरूलाई ख्रीष्टतिर लैजाँदै गर्दा एउटा हिंसक समूहको कार्यकर्ताहरूसँग अन्य योजनाहरू थिए। सन् १९९९ जनवरी २२ तारिख स्टेन्स र उहाँका दुई छोराहरू फिलिप (१०) तिमोथी (७), जो विद्यालयबाट बिदामा आफ्नो आमाबुवासँग रहन आएका थिए, मनोहरपुरको जङ्गलमा हुन गइरहेको इसाई शिविरमा सहभागी हुनको लागि जाँदै गर्दा रातमा विश्राम लिनको लागि मनोहरपुर गाउँमा एक ठाउँमा आफ्नो गाडी रोकेर गाडीमै सुत्नुभयो । गाडीमा सुतिरहेको बेला हिंसक भीडले बन्चरो र अन्य हतियार लिएर स्टेन्स र उनका छोराहरूलाई आक्रमण गर्यो र उहाँहरूको गाडीमा आगजनी गर्यो। उम्किन खोज्दा भीडले दिएन, तीनै जना गाडी भित्र नै जलेर मरे । व्यापक रूपमा यस हत्याको निन्दा गरिएको थियो, यद्यपि ग्लेडिसले आफ्ना पति र छोराहरूलाई मार्ने मानिसहरूलाई क्षमा गर्नुभयो, र भन्नुभयो “… मेरो पति ग्राहम र मेरा दुई छोराहरूको मृत्युको लागि जिम्मेवार व्यक्तिहरूलाई सजाय दिनु मेरो सोचबाट धेरै टाढा छ। तर मेरो चाहना र आशा छ कि तिनीहरूले पश्चात्ताप गर्नेछन् र सुध्रिनेछन् ।”
उहाँको क्षमाको कार्यले भारतीय समाचारपत्रहरूको पहिलो पृष्ठमा ख्रीष्टको प्रेमको घोषणा गर्यो। त्यो सतावटको सामना गर्दा धेरै वर्षसम्म सुसमाचार अस्वीकार गर्ने धेरै जना येशूकहाँ आए। परमेश्वरको कामलाई पूरा गर्न उहाँ आफ्नी छोरीसँग सन् २००४ सम्म भारतमा नै रहेर काम गर्नुभएको थियो। सन् २००५ मा उहाँलाई ओडिशामा उहाँले गरेको कामको लागि भारतमा नागरिकले प्राप्त गर्न सक्ने चौथो सर्वोच्च सम्मान पद्मश्रीबाट सम्मानित गरिएको थियो। सन् २०१६ मा उहाँले मदर टेरेसा मेमोरियल इन्टरनेशनल अवार्ड फोर सोसियल जस्टिस प्राप्त गर्नुभयो।
“उहाँसँग दु:ख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं। ” रोमी ८:१७