रोबर्ट जर्मेन थोमस
जन्म | सन् १८४०-०९-१७ |
जन्म स्थान | बेलायत |
दर्शन स्थल | कोरिया |
निधन | सन् १८६६-०८-३१ |
रोबर्ट जर्मेन थोमसको जन्म सन् १८४० मा बेलायतमा रहेको वेल्सको रायडरको सानो गाउँमा भएको थियो । उनका बुबा पादरी थिए । रोबर्ट परमेश्वरको वचनप्रति जोशिलो हुनुहुन्थ्यो ।
जवान रोबर्ट सेवकको रूपमा नियुक्त भएको केही समयमा नै उहाँले क्यारोलिन गोडफ्रेलाई भेट्नुभयो । क्यारोलिनले पनि मिसनको दर्शन बोक्नुभएको थियो, र उहाँको विवाहको प्रस्ताव र चीनको शाङ्घाईको परमेश्वरको बोलावटको लागि समर्थन जनाउनुभयो ।
नव विवाहित दम्पती लन्डन मिसनरी सोसाइटी(एल.एम.एस.) मार्फत सन् १८६३ को अन्ततिर आफ्नो गन्तव्यमा आइपुगे । रोबर्ट आफ्नो नयाँ घरको फोहोर अवस्था देखेर घृणित हुनुभयो, र आफ्नी गर्भवती पत्नी क्यारोलिनको लागि राम्रो वासस्थान खोज्न उनलाई साथीहरूको हेरचाहमा छोडेर नजिकैको सहरमा जानुभयो । घर फर्किँदा रोबर्टले क्यारोलिनको उत्प्रसव र मृत्यु भएको थाहा पाउनुभयो र पूर्ण रूपमा निराश हुनुभयो । उनको मृत्युबाट उहाँ यति व्याकुल हुनुभयो कि उहाँले एल.एम.एस.लाई यसरी राजीनामा पत्र लेख्नुभयो, “म उनको शान्त पीडारहित अन्त्यको लागि परमेश्वरलाई धन्यवाद दिन्छु, र भन्छु, ‘परमप्रभुले दिनुभयो, परमप्रभुले लिनुभयो, परमप्रभुको नाउँ धन्यको होस् ।’ “
एल.एम.एस.बाट राजीनामा दिने उनको निर्णयको एक हिस्सा संस्थाले सुसमाचार प्रचार गर्नुमा अपनाउने आवश्यकभन्दा बढी सावधानी र साङ्घाईको सुरक्षालाई छोडेर बाहिर जान इच्छा नगर्नु थियो । उहाँ कोरियाको सिमाना नजिकैको चेफुतिर प्रस्थान गर्नुभयो, र उहाँको भाषाको प्रतिभाको कारण भन्सार अधिकारीको रूपमा जागिर पाउनुभयो । यहाँ उहाँ अन्य समान विचारधाराका मिसनरीहरूसँग जोडिनुभयो, त्यसमध्ये एक जना अलेक्जेन्डर विलियमसन थिए, जसले रोबर्टलाई दुई क्याथोलिक कोरियाली यात्रीहरूसँग परिचय गराए । तिनीहरूले सुसमाचार सुनेका र विश्वास गरेका थिए तर बाइबल कहिल्यै पढेका थिएनन् । त्यति बेला [अहिले पनि] कोरियालाई ‘एकान्त राज्य’ भनेर चिनिन्थ्यो, किनभने सरकार विदेशी प्रभावसँग डराएको थियो र पश्चिमी सम्पर्कलाई निषेध गरेको थियो । विदेशीहरूबाट टाढा रहन सम्झाउनेहरू जताततै थिए; विदेशी साहित्य दिने वा लिने गर्ने मानिसहरूलाई मृत्युदण्ड दिइन्थ्यो ।
यो नयाँ चुनौतीले रोबर्टको मिसनरी भावनालाई पुनर्जीवित गरायो । स्कटिस मिसनरी सोसाइटीको सहयोगमा उहाँले ठुलो सङ्ख्यामा चिनियाँ बाइबलहरू सङ्कलन गर्नुभयो । उहाँ पहिले नै भन्सार अधिकारीको पदमा भएकोले सन् १८६५ मा रोबर्टलाई कोरिया प्रवेश गर्न र भाषा सिक्न धेरै महिना बस्न अनुमति दिइएको थियो । त्यहाँका थोरै मानिसहरूले बाइबल स्वीकार गरेकोमा पनि उहाँ छक्क पर्नुभयो । उहाँले एक पत्रमा लेख्नुभयो, “यी पुस्तकहरू शिर काटिने, वा कम्तीमा जरिवाना र कैदको जोखिममा लिइएको हुनाले लिनेहरूले तिनीहरूलाई पढ्न चाहन्छन् भन्ने निष्कर्षमा पुग्नु एकदम उचित छ ।”
सन् १८६६ मा क्याथोलिकहरू कोरियाली सरकारबाट भयङ्कर सतावटमा थिए । त्यति बेला कम्तीमा ८,००० जना मारिए । यसको बाबजुद थोमसले एकान्त राज्यमा दोस्रो यात्राको योजना बनाउनुभयो । उहाँले एक मात्र उपलब्ध यातायातलाई प्रयोग गर्नुभयो – एक अमेरिकी व्यापारिक जहाज ‘द शेरम्यान’ ।
कोरियाली लुगा लगाएका रोबर्टले कोरियाली तटमा जहाज रोक्ने हरेक ठाउँमा प्रचार गर्नुभयो र बाइबल वितरण गर्नुभयो । धेरै मानिसहरू यस मानिसप्रति मित्रवत् थिए, जसले तिनीहरूले जस्तै लुगा लगाएर प्रचार गर्नुहुन्थ्यो । बाटो देखाउनेको रूपमा भाडामा लिएका केही स्थानीयहरूले कप्तानलाई यस क्षेत्रमा जहाजलाई स्वागत नगरेको चेतावनी दिए । यो माथि पानीको गहिराइ कम हुँदै गइरहेको थियो ! कप्तानले चेतावनीलाई बेवास्ता गरे, र जहाज लगभग प्योङयाङ नपुगेसम्म अगि बढिरहे ।
क्रोधित कोरियालीहरूको एक समूह जहाजको आगमनको लागि पर्खिरहेको थियो । तिनीहरूले जहाज देखे र त्यसलाई रोक्न प्रयास गरे । यस घडीमा कप्तान एकदमै असहज भएका थिए र जहाजलाई समुद्रमा फर्काउने प्रयास गरे । तर स्थानीयले चेतावनी दिएझैँ पानी निकै कम थियो र जहाज अड्कियो ।
रोबर्ट जहाजको छतमा उभिएर मानिसहरूले सुख्खा काठहरूले डुङ्गाहरू भरेर आगो लगाएर बारुदले भरिएको ठुलो बलियो जहाजको नजिक पठाएको देख्नुभयो । के हुन लागेको थाहा पाएर रोबर्ट छतमुनि आफ्नो कोठामा दौडनुभयो, र सेतो झन्डा र आफूले बोक्न सक्ने सबै बाइबलहरू लिएर छतमा फर्किनुभयो । आफू के गरिरहेको छु भनी सोच्न नपाउँदै रोबर्ट आगो लागि सकेको जहाजबाट पानीमा हाम्फाल्नुभयो । एकै छिनमा जहाज विस्फोट हुँदा अरूको ध्यान त्यहाँ फर्कियो र उहाँ किनारतिर पौडनुभयो ।
रोबर्ट किनारमा पुग्दा उहाँलाई तरबार बोकेका एक कोरियाली सिपाहीले भेटे । एउटा सानो केटो सिपाहीको छेउमा उभिएका थिए । युवा मिसनरीले अन्तिम चिनियाँ बाइबललाई कोरियाली भाषामा यसो भन्दै सिपाहीलाई दिए, “कृपया यसलाई लिनुहोस् ।” त्यसपछि जल्लादको प्रहार स्वीकार गर्न घुँडा टेक्नुभयो ।
हामी केवल कल्पना गर्न सक्छौँ कि रोबर्ट जर्मेन थोमसको अन्तिम प्रार्थना यो सिपाहीको लागि र यो भूमिको लागि थियो । उहाँलाई कमै थाहा थियो कि उहाँको जीवनको अन्त्यले अरूको जीवनको सुरुआत गर्नेछ । उहाँको मुक्तिदाता जस्तै उहाँ मर्नुभयो कि कोही बाँच्न सकून् । उहाँको जीवन यतिमा समाप्त भएन ।
सिपाहीहरू त्यहाँबाट गएपछि धेरै स्थानीयहरूले किनारबाट बाइबलहरू खोसेर घर लगे । केही दिनपछि भेट्टाएका बाइबलहरूलाई नष्ट गर्नको लागि आदेश जारी भयो, तर एक जना सरकारी अधिकारीले आदेशलाई मानेनन् । यो सरकारी अधिकारी पाक-योंग-सिकले आफ्नो घरको भित्ता सजाउनको लागि बाइबलका पानाहरूलाई प्रयोग गरेका थिए । वर्षौँपछि त्यो घरलाई चोई ची र्याङले किने, जो आफ्नो एघार वर्षको उमेरमा रोबर्ट मारिँदा सिपाहीको छेउमा उभिरहेका थिए । उनलाई त्यो घटना प्रस्ट याद थियो । भित्तामा टाँसिएको बाइबलका पानाहरूद्वारा उनी र उनका धेरै पाहुनाहरूले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा विश्वास गर्न आए ।
प्रतिबन्धहरूको बाबजुद, कोरियामा इसाइत्व फैलियो । रोबर्टको मृत्युको पन्ध्र वर्षभित्र त्यहाँ एक ठोस इसाई समुदाय स्थापित भइसकेको थियो । प्योङयाङमा लगभग १०० मण्डलीहरू स्थापना भइसकेका थिए र जागृतिहरू ठाउँ-ठाउँमा भइरहेका थिए । रोबर्ट जर्मेन थोमसलाई कोरियाको पहिलो प्रोटेस्टेन्ट मिसनरीको रूपमा सम्झना र सम्मान गरिन्छ ।
यति ठुला बलिदानहरूद्वारा आरम्भ भएको इसाइत्व अझ कोरियाको युद्ध पछि उत्तर कोरियामा विश्वकै ठुलो सतावटमा परेको छ, झन्डै ६० देखि ७० हजार इसाईहरू कारागारमा छन् । उत्तर कोरियामा बाइबल साथमा भेट्टाएको खण्डमा क्रूर दण्ड दिइन्छ । सन् २००९ मा एक जना दुई वर्षको बच्चालाई आमा-बुबाको साथ बाइबल भेट्टाएको कारण जन्म कैद दिएको थियो । ‘ओपन डोर्स’ संस्थाले प्रकाशन गर्ने ‘विश्व सतावट सूची’मा विगतको १३ वर्षदेखि उत्तर कोरिया पहिलो स्थानमा छ ।
जोखिमहरूको बाबजुद, अहिले पनि अनुमानित ४ लाख इसाईहरू गोप्य रूपमा आफ्नो विश्वासलाई जोगाएर जिइरहेका छन् । तपाईँको प्रार्थना उनीहरूको लागि अति मूल्यवान् छ ।