बाइबल मिसनरी चर्चको इतिहास

“पवित्रताको आन्दोलन” र बाइबल मिसनरी चर्च


बाइबल मिसनरी चर्च एउटा वेस्लीयन परम्परामा पर्ने होलिनेस साम्प्रदायिक परिवार अन्तर्गतको सम्प्रदाय हो, जसको स्थापना सन्‌ १९५५ मा सन्युक्त राज्य अमेरिकामा भएको थियो । यस सम्प्रदायका सिद्धान्तहरू जोन वेस्ली र पवित्रताको आन्दोलनसँग जोडिएको हुनाले हामीले यी दुवैको बारेमा बुझ्नु आवश्यक छ ।

जोन वेस्ली (John Wesley)
पवित्रताको आन्दोलन
बाइबल मिसनरी चर्च
जोन वेस्लीले बनाएको मेथोडिस्ट समाजका विधिहरू

जोन वेस्ली (John Wesley)


जोन वेस्ली सन्‌ १७०३ मा बेलायतमा जन्मेर एङ्लिकन(चर्च अफ इङ्ल्याण्ड) मण्डलीमा हुर्किनुभयो । उहाँको बुवाले झन्डै पचास वर्षसम्म एङ्लिकन मण्डलीमा सेवकको रूपमा काम गर्नुभयो । उहाँ सन्‌ १७२७ मा अक्सफोर्ड विश्व विद्यालयमा आफ्नो उच्च शिक्षा हासिल गरिसकेपछि आफ्नो बुवालाई सघाउनको लागि सहायक सेवकको रूपमा सन्‌ १७२८ मा अभिषेक हुनुभयो ।

सानो उमेरदेखि नै आत्मिक शिक्षामा हुर्केको जोन वेस्ली थामस केम्पिस, जेरेमी टेइलर जस्ता व्यक्तिहरूको किताबद्वारा प्रभावित हुनुभयो । यति नै खेर विलियम लले लेख्नुभएको “इसाई सिद्धता र पवित्र जीवन जिउन एउटा गम्भीर बोलावट” भन्ने किताबलाई पढ्दा परमेश्वरको व्यवस्थाप्रति उहाँको आश्चर्यता र आदर बढ्यो, र त्यो परमेश्वरको कानुनलाई भित्री र बाहिरी रूपमा पछ्याएर उद्धार पाउने सङ्कल्प गर्नुभयो ।

यसरी गम्भीर रूपमा परमेश्वरको नियमलाई पालन गरिरहेको जोन वेस्ली सन्‌ १७३५ अक्टोबरमा मिसनरी भएर अमेरिका जानुभयो । यस यात्रामा हुँदा नै भक्ति साथ जिउने मोराभिहरूको जीवनद्वारा प्रभावित हुनुभयो । अमेरिकामा उहाँले सामना गरेको कानुनी समस्या र अपेक्षित नतिजा नआएको कारण करिब दुई वर्षपछि सन् १७३७ डिसेम्बरमा असफलताको महसुससहित बेलायत फर्कनुभयो।

बेलायत फर्किसकेपछि जवान मोराभि मिसनरी पिटर बोलेरबाट विश्वासद्वारा मात्र उद्धार पाउनु भन्ने सत्यको बारेमा सल्लाह पाउनुभयो, जो आफै पनि अमेरिकातिरको यात्रामा थिए । सन्‌ १७३८ मे २४ तारिख एउटा मोराभि सभामा विश्वासद्वारा उद्धार पाउनु भन्ने कुरालाई अनुभव गर्नुभयो । त्यसपछि सेवामा लागेको जोन वेस्लीले विश्वासद्वारा उद्धार पाउनु र पवित्र आत्माद्वारा इसाई सिद्धतामा आउनु भन्ने कुरालाई प्रचार गर्न थाल्नुभयो ।
एङ्लिकन मण्डलीहरूले उहाँको लागि ढोका बन्द गर्दा ‘संसार नै मेरो मण्डली हो’ भनी घोषणा गरेर खुला ठाउँहरूमा प्रचार गर्न थाल्नुभयो ।

परमेश्वरले वेस्लीद्वारा एउटा महान् जागृति ल्याउनुभयो, जसबाट सन्‌ १७३९ मा पहिलो मेथोडिस्ट मण्डलीको स्थापना भयो । सन्‌ १७४३ मा जोन वेस्लीले ‘युनाइटेड सोसाइटीस’ भन्ने मेथोडिस्ट सम्प्रदायका विधिहरू बनाएर प्रकाशन गर्नुभयो, जुनचाहिँ पछि स्थापित भएका होलिनेस मण्डलीहरूका विधिहरू(म्यानुअल)को आधार बन्न पुग्यो ।

पवित्रताको आन्दोलन (Holiness Movement)


“पवित्रताको आन्दोलन” १९औँ शताब्दीमा संयुक्त राज्य अमेरिकाका मेथोडिस्ट मण्डलीहरूको बिचबाट सुरु भएको एक इसाई धार्मिक आन्दोलन हो । यसको सिद्धान्त जोन वेस्लीको उद्धारपछिको शुद्धिकरणको (इसाई सिद्धता) अनुभवमा केन्द्रित छ । यस अवधिमा स्थापना भएका असङ्ख्य पवित्रताको (Holiness) मण्डलीहरू अर्ध-मेथोडिस्ट (मेथोडिस्ट सम्प्रदायभित्र नपर्ने तर मेथोडिस्टको सिद्धान्तलाई पछ्याउने) मण्डलीहरूदेखि पेन्टेकोस्टल मण्डलीहरूसम्म विभिन्न समूह र सम्प्रदायहरूमा पर्छन्‌ ।

यो आन्दोलन मेथोडिजमका संस्थापक जोन वेस्लीमा जरा गाडिएको देख्न सकिन्छ, जसले “यसकारण जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध होओ!” मत्ती ५:४८ लाई आधार मानेर “इसाई सिद्धता” लाई जोड दिनुभएको थियो । उहाँको अनुसार सिद्धता इसाई बन्न चाहने सबैको लक्ष्य हुनु थियो; यस शिक्षामा यसरी विश्वास गरिन्छ कि पापलाई क्षमा (धर्मिकरण) गर्न सक्ने गरी असल हुनुभएको परमेश्वर पवित्र आत्माद्वारा पापीहरूलाई सन्तको रूपमा रूपान्तरण (शुद्धिकरण) गर्न सक्ने गरी महान् पनि हुनुहुन्छ, जसले गर्दा उनीहरूलाई बाहिरी पापका साथै “खराब विचारहरू र स्वभाव” बाट पनि मुक्त हुन सक्षम बनाउनुहुन्छ — छोटकरीमा, धर्मशास्त्रले तोकिएको पवित्रताको नापमा पुग्नको लागि सक्षम बनाउनुहुन्छ । जसको आधारको रूपमा तल दिइएको वचनलाई मानिन्छ ।

“अब शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका होऊन्; अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका होऊन् । तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्य हुनुहुन्छ; उहाँले यो गर्नुहुनेछ ।” १ थेसलोनिकी ५:२३-२४ (टि.बि.एस.)

अमेरिकामा मेथोडिजम सुरु हुँदा उहाँहरूको आदर्श वाक्य चाहिँ “यी भूमिहरूमा इसाई पवित्रता फैलाउनु” भन्ने नै थियो। तर वास्तविकतामा पवित्रता र सिद्धताको सिद्धान्तहरूलाई १९औँ शताब्दीको सुरुका समयहरूमा धेरै हदसम्म बेवास्ता गरियो । सन्‌ १८४३ मा झन्डै बाह्र जना जति सेवकहरू मेथोडिस्ट एपिस्कोपल मण्डलीबाट छुटेर ‘वेस्लीयन मेथोडिस्ट चर्च अफ अमेरिका’ को स्थापना गरे, जसले छुटिनु अथवा सीमित सम्बन्ध राख्नु भन्ने ढाँचा स्थापित गर्‍यो । मध्य-पश्चिम र ग्रामीण क्षेत्रहरूबाट ठुलो सङ्ख्यामा प्रोटेस्टेन्टहरू पवित्रताको आन्दोलनमा सामेल भए । पोसाक र व्यवहारसम्बन्धी कुरामा कडा नियमलाई पालन गर्नु यी मानिसहरूको रुचि थियो । तिनीहरूमध्ये धेरै जसोले धन, सामाजिक प्रतिष्ठा र धार्मिक औपचारिकतामा व्यस्त रहेका देखावटी, झुटो र फेसनदार इसाईहरूप्रति थोरै सहानुभूति राखेका थिए ।

सन्‌ १८८० देखि पहिलो विश्व युद्धसम्मका वर्षहरूभित्र पवित्रता सिद्धान्त मान्ने धेरै समूहहरू स्थापित भए । तिनीहरूमध्ये धेरैले सीमित स्थानीय वा क्षेत्रीय प्रभाव मात्र ल्याउन सक्ने भए तापनि केही समूहहरूमा दिगो विकास हुने कुरामा उल्लेखनीय क्षमता देखियो । यस्ता समूहहरूभित्र वेस्लीयन मेथोडिस्ट चर्च र फ्री मेथोडिस्ट चर्च अफ नर्थ अमेरिका जस्ता पुराना सम्प्रदायहरू पर्छन्‌, साथै द चर्च अफ गड, चर्च अफ दी नाजरेन, र क्याल्भिनिजम सिद्धान्तलाई मान्ने द ख्रीष्टियन एण्ड मिसनरी अलायन्स र स्याल्वेशन आर्मी जस्ता नयाँ सम्प्रदायहरू पनि पर्छन्‌ । चर्च अफ गड जस्ता केही समूहहरू सम्प्रदायवादलाई विरोध गर्नको लागि स्थापित भएका थिए । अन्य जस्तै: द ख्रीष्टियन एण्ड मिसनरी अलायन्स र द चर्च अफ द नाजरेन समूहहरू बेवास्ता गरिएका गरिबहरूको आत्मिक र सामाजिक आवश्यकताहरू पूरा गर्नुपर्छ भन्ने पक्षमा रहेर स्थापित भएका थिए ।

यी पवित्रता (होलिनेस) सिद्धान्त मान्ने सम्प्रदायहरू प्रायः अनुग्रहको दोस्रो काम भनिने “पूर्ण शुद्धिकरण” र त्यसले परिणामस्वरूप ल्याउने सांसारिक मूल्यमान्यताहरूबाट अलग हुने र व्यवहारिक रूपमा पवित्रतालाई पछ्याउने भन्ने कुराहरूलाई पछ्याउनको लागि र फैलाउनको लागि नै स्थापित भए । यसैले यी मण्डलीहरूले पवित्रता अथवा ‘होलिनेस’ मण्डलीहरू भन्ने नाम पाए । होलिनेस मण्डलीहरूले यी मुख्य कुराहरूलाई मेथोडिस्ट सिद्धान्तलाई पछ्याउने ठुला सम्प्रदायहरूले त्यागिसकेका छन्‌ भनी भन्छन्‌ । अहिलेका समयहरूमा होलिनेस सिद्धान्तलाई पछ्याउनेहरूको कुल सदस्यताको लगभग एक तिहाइ सदस्यहरू भएको चर्च अफ दी नाजरेन सम्प्रदाय सामान्यतया यसको सबैभन्दा प्रभावशाली प्रतिनिधिको रूपमा मान्यता प्राप्त छ ।

१९औँ शताब्दीको जागृतिद्वारा प्रभावित भएकाले होलिनेस मण्डलीहरू तिनीहरूको पूर्ववर्तीहरूको तुलनामा मेथोडिस्ट सिद्धान्तलाई पछ्याउने कुरामा कट्टरवादीहरूको रूपमा चिनिन्छन्‌ । शुद्धिकरण यी मण्डलीहरूमा विश्वासी जीवनको मुख्य लक्ष्यको रूपमा रहँदै आएको छ । यसको साथ सबै मानवको उद्धारको लागि परिश्रम गर्नु यी सम्प्रदायका मण्डलीहरूमा महत्त्वपूर्ण ख्रीष्टिय दायित्वको रूपमा मानिन्छ । यसरी “होलिनेस” भन्ने एउटा नयाँ साम्प्रदायिक परिवारको स्थापना भयो ।

बाइबल मिसनरी चर्च (Bible Missionary Church)

रेभ. ग्लेन ग्रिफित
रेभ. ग्लेन ग्रिफित


सन्‌ १९५५ मा चर्च अफ दी नाजरेन मण्डलीका एक जना सेवक रेभ. ग्लेन ग्रिफितले सो समयमा मण्डलीमा प्रवेश गरिरहेको आधुनिकता र सिद्धान्तलाई पछ्याउनुमा भइरहेको खुकुलोपनलाई विरोध गरेर एउटा सफल जागृतिलाई अगुवाइ गर्नुभयो । अमेरिकाको इडाहोमा भएको यी सभाहरूमा ग्लेन ग्रिफितको प्रचारलाई सुन्नको लागि होलिनेस सिद्धान्तलाई कट्टर रूपमा मान्ने मानिसहरू भेला भएका थिए । यी सभाहरू पछाडि एउटा नयाँ सम्प्रदाय स्थापना गर्नुपर्छ भन्ने महसुस भएर रेभ. ग्लेन ग्रिफित र अन्य केही मानिसहरू मिलेर “बाइबल मिसनरी युनियन” भन्ने सम्प्रदाय स्थापना गरे । यो खबर फैलिन थाल्दा दस महिनाको अवधिभित्र विचार मिल्ने समूहहरूले अमेरिकाको बीस वटा प्रान्तहरूमा सङ्गतिहरूको स्थापना गरे । रेभ. जे.इ. कुक, रेभ. स्पेन्सर जोनसोन, रेभ. एल्बर्ट डाड र रेभ. हेच.डि. हफ्‌म्यान जस्ता मानिसहरू ग्रिफितसँग जोडिए ।

सन्‌ १९५६ मा पहिलो साधारण सभा डेन्वरमा हुँदा नयाँ सम्प्रदायको नाम “बाइबल मिसनरी युनियन” बाट बदलिएर “बाइबल मिसनरी चर्च”(बि.एम.सी.) भनी राखियो; र रेभ. ग्लेन ग्रिफित र रेभ. एल्बर्ट डाड दुवै जनरल मोडरेटरको रूपमा छानिए ।

यद्यपि ग्लेन ग्रिफित लामो समय बि.एम.सि.मा रहनुभएन । सन् १९५८ मा बि.एम.सि.ले सम्बन्ध विच्छेद गरेकाहरूलाई सदस्यको रूपमा स्वीकार गरी सेवामा नियुक्त गर्ने निर्णय गर्दा रेभ. ग्लेन ग्रिफिथ र अरू केहीले बाइबल मिसनरी चर्च छोडे, र “वेस्लीयन होलिनेस एसोसिएशन” गठन गर्नुभयो। साथै यस विवाहको विषयलाई सम्बोधन गरी ग्रिफितले “मृत्युले हामीलाई नछुट्याउञ्जेल” भन्ने नाममा किताब पनि लेख्नुभयो।

पूर्ववर्ती चर्च अफ द नाजरेन सम्प्रदाय जसरी नै यो सम्प्रदायको सिद्धान्त पनि वेस्लीयन-अर्मिनियन सिद्धान्त नै हो, जसमा पवित्रतालाई जोड दिइन्छ, जुन ‘अनुग्रहको दोस्रो काम’ भनिने ‘पूर्ण शुद्धिकरण’द्वारा हासिल गरिन्छ । तर चर्च अफ दी नाजरेनभन्दा बाइबल मिसनरी चर्चले अझै कट्टर रूपमा यस सिद्धान्तलाई पछ्याउने भएकोले यो ‘रूढिवादी होलिनेस’ (Conservative Holiness) साम्प्रदायिक परिवारभित्र पर्दछ । यस संस्थाको मिसन काम क्यानडा, मेक्सिको, होन्डुरस, घाना, नाइजेरिया, नेपाल, फिलिपिन्स, पपुवा न्युगिनि र अन्य देशहरूमा भइरहेको छ ।

छोटकरीमा भन्नुपर्दा १८ औँ शताब्दीको मेथोडिस्ट आन्दोलनले पवित्रताको आन्दोलनको जग बसाल्यो, र सन्‌ १८४३ तिर सुरु भएको पवित्रताको आन्दोलनबाट जन्मेका विभिन्न मण्डलीहरू मिलेर सन्‌ १९०८ मा चर्च अफ दी नाजरेन सम्प्रदायको सुरुवात गरे। सन्‌ १९५५ मा चर्च अफ दी नाजरेनका एक जना सेवक रेभ. ग्लेन ग्रिफितद्वारा बाइबल मिसनरी चर्चको स्थापना भयो।

जोन वेस्लीले बनाएको मेथोडिस्ट समाजका विधिहरू


“युनाइटेड सोसाइटीस”

मेथोडिस्ट समाजको परिभाषा यसरी दिइन्थ्यो, “भक्तिको रूप भएको र त्यसको शक्तिलाई खोज्ने मानिसहरूको दल, जुनचाहिँ एक साथ प्रार्थना गर्न, अर्तीको वचन स्वीकार गर्न र प्रेममा एक अर्काको हेरचाह गर्न एकत्रित भएको हुन्छ, ताकि तिनीहरू एक-अर्कालाई आफ्नो मुक्तिको काम पूरा गर्न सहायता गर्न सकून्‌ ।”

मेथोडिस्ट समाजमा सदस्य बन्नको लागि एक मात्र सर्त छ, त्योचाहिँ “आउने क्रोधबाट भाग्ने र पापबाट मुक्ति पाउने इच्छा ।” तर जहाँ यो साँच्चै नै आत्मामा गाडिएको हुन्छ त्यहाँ त्यो फलहरूद्वारा देखिनेछ ।

त्यस कारण यसमा लागिरहने सबैबाट आफ्नो मुक्ति पाउने इच्छाको प्रमाण दिइरहनुपर्नेछ भनी आशा गरिन्छ ।
पहिलो: कुनै खराबी नगर्नु
सबै किसिमका खराबबाट अलग रहनु, विशेष गरी सामान्य रूपमा अभ्यास गरिने खराब कुराहरू जस्तै:
१. परमेश्वरको नामलाई व्यर्थमा लिनु ।
२. प्रभुको दिनलाई अपवित्र तुल्याउनु – सामान्य कामहरू गरेर अथवा किनबेच गरेर ।
३. मतवालापन अथवा मात लाग्ने कुराहरू पिउनु (अत्यावश्यक अवस्था बाहेक) ।
४. झगडा गर्नु, वादविवाद गर्नु र बाजाबाज गर्नु; एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जानु; खराबीको सट्टामा खराबी गर्नु, अपमानको सट्टामा अपमान गर्नु; किन्दा बेच्दा धेरै शब्दहरू प्रयोग गर्नु ।
५. कर नतिरी सामान किनबेच गर्नु ।
६. ब्याजमा पैसा लिनु दिनु अर्थात्‌ गैर कानुनी ब्याज ।
७. प्रेमहीन र बेफाइदापूर्वक बातचित, विशेष गरी शासकहरू र सेवकहरूको बारेमा खराब बोल्नु ।
८. अरूले हामीलाई जे गरेको चाहँदैनौ, सो तिनीहरूलाई गर्नु ।
९. परमेश्वरलाई महिमा नहुने कुरा भनी थाहा भएको कुरा गर्नु, जस्तै:

सुन अथवा महँगो वस्त्र लगाउनु ।
प्रभु येशूको नामलाई प्रयोग गर्न नसक्ने खालको मोड लिनु ।
परमेश्वरको ज्ञान र प्रेम नल्याउने खालका गीतहरू गाउनु अथवा किताबहरू पढ्नु ।
आफूप्रति नरम हुनु र अनावश्यक रूपमा अनियन्त्रित भएर आफ्नो इच्छालाई पूरा गर्नु ।
संसारमा सम्पत्ति थुपार्नु ।
तिर्ने सम्भावनाविना उधारो लिनु अथवा तिर्ने सम्भावनाविना उधारोमा सामान किन्नु ।


त्यस कारण यसमा लागिरहने सबैबाट आफ्नो मुक्ति पाउने इच्छाको प्रमाण दिइरहनुपर्नेछ भनी आशा गरिन्छ ।
दोस्रो: असल हुनु
आफ्नो सामर्थ्यअनुसार सबै किसिमले दयालु हुनु; अवसर पाएअनुसार सबै प्रकारको भलाइ गर्नु, सम्भव भएसम्म सबै मानिसहरूका लागि ।
१. तिनीहरूको शरीरलाई: परमेश्वरले दिनुभएको क्षमताअनुसार भोकोलाई भोजन दिनु, नाङ्गोलाई वस्त्र दिनु र बिरामी अथवा झ्यालखानामा परेकाहरूलाई भेट्न जानु ।
२. तिनीहरूको प्राणलाई: हामी बातचित गर्ने हरेकलाई शिक्षा, अर्ती र हप्काइ दिनु । “भलाइ गर्न हाम्रो हृदय स्वतन्त्र नहुन्जेल हामीले भलाइ गर्नु हुँदैन” भन्ने सिद्धान्तलाई खुट्टामुनि कुल्चिनुपर्छ ।
३. भलाइ गर्नु, विशेष गरी जो विश्वासका घरानाका हुन्‌, अथवा त्योभित्र हुन सुस्केरा हाल्दै गरेकाहरूलाई; रोजगारीमा तिनीहरूलाई प्राथमिकता दिएर; एक-अर्काबाट किनमेल गरेर; काममा एक-अर्कालाई सघाएर, र अझै धेरै कुराहरूद्वारा, किनभने संसारले आफ्नोलाई प्रेम गर्छ र आफ्नोलाई मात्र ।
४. सुसमाचारलाई कलङ्कित हुन नदिन सक्दो पूर्ण सजगता र मितव्ययिता अपनाउनु ।
५. आफ्नो अगाडि राखिएको दौडलाई धैर्य साथ दौडनु, आफूलाई इन्कार गर्नु, र दैनिक रूपमा क्रूस उठाउनु; संसारको फोहोर र पृथ्वीको कसिङ्गर हुनु भन्ने ख्रीष्टको निम्ति निन्दित हुने कुरालाई सहन समर्पित हुनु; र प्रभुको खातिर मानिसहरूले आफ्नो बारेमा सबै प्रकारको खराबी बोल्नेछन्‌ भन्ने कुराको लागि तयार हुनु ।


त्यस कारण यसमा लागिरहने सबैबाट आफ्नो मुक्ति पाउने इच्छाको प्रमाण दिइरहनुपर्नेछ भनी आशा गरिन्छ ।
तेस्रो: परमप्रभुका विधिहरूलाई पालन गर्नु, जस्तै:
१. आराधना सेवामा सहभागी हुनु ।
२. वचनको सेवकाइमा सहभागी हुनु: पाठ गरेर अथवा व्याख्या गरेर ।
३. प्रभु-भोजमा सहभागी हुनु ।
४. पारिवारिक र व्यक्तिगत प्रार्थनामा सहभागी हुनु ।
५. धर्मशास्त्रलाई खोजतलास गर्नु ।
६. उपवास बस्नु, र व्रत बस्नु (सीमित समयको लागि केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन । )

यी नै हाम्रो समाजको नियमहरू हुन्‌, जो परमेश्वरले हामीलाई पालन गर्न सिकाउनुभएको छ, जुन उहाँको वचनमा पनि लेखिएको छ, जुनचाहिँ हाम्रो विश्वास र अभ्यासको लागि पर्याप्त र एक मात्र नियम हो । हामीलाई थाहा छ कि यी कुराहरूलाई उहाँको आत्माले साँचो रूपमा जागृत हृदयहरूमा लेख्नुहुन्छ । हामीमध्येमा यसलाई नपछ्याउने र भङ्ग गर्ने बानी भएको कोही छ भने तिनीहरूलाई यो थाहा होस्‌ कि प्राणहरूको रक्षा गर्नेलाई तिनीहरूले लेखा बुझाउनु पर्नेछ । त्यस्ता मानिसलाई तिनको गल्तीको बारेमा हामीले अर्ती दिन्छौँ; केही समयसम्म तिनलाई हामीले सहन्छौँ; तर यदि तिनले पश्चात्ताप गरेनन्‌ भने हाम्रो बिचमा तिनलाई ठाउँ छैन; हामीले आफ्नो प्राणलाई बचायौँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *