डा. अल्बर्ट लेरोय शेल्टन

जन्मसन्‌ १८७५-०६-०९
जन्म स्थानसंयुक्त राज्य अमेरिका
दर्शन स्थलचीन, तिब्बत
निधनसन्‌ १९२२-०२-१७

चिनियाँ र तिब्बतीहरू बिचको शत्रुता धेरै शताब्दीहरू अगिदेखिको हो । सन् १९०० को पहिलो दशकमा बाथङ क्षेत्रमा चिनियाँ सेनापतिले तिब्बतीहरूलाई उनीहरूको विद्रोहको लागि निर्दयतापूर्वक दण्ड दिइरहेका थिए । उनीहरूको हातखुट्टा काटेर रगत बगाएर मर्न छोडियो । त्यो अति दुर्गम क्षेत्रमा आइपुगेका एक जना मिसनरीले गम्भीर चोट लागेका मानिसहरूलाई उपचार गर्न अनुमति माग्दै जनरलसँग सम्पर्क गरे । आश्चर्यचकित जनरलले मिसनरीलाई किन उनीहरूको उपचार गर्न चासो राख्नुभयो भनेर सोधे, जबकि विद्रोहीका आफ्नै देशवासीहरूले चासो दिएनन् । मिसनरीले जवाफ दिनुभयो, “मेरो प्रभु, मेरो लागि पनि त्यस्तै गर्नुभएको थियो ।” त्यो मिसनरी अल्बर्ट लेरोय शेल्टन हुनुहुन्थ्यो, जो तिब्बतका लागि अग्रगामी मिसनरी हुनुहुन्थ्यो । सुसमाचारद्वारा प्रतिबोधित त्यो जनरल पछि अल्बर्टको भाइ जस्तै हुनुभयो ।

एक साधारण  परिवारमा जन्मेका अल्बर्टको आत्मिक अनुशासनमा पालनपोषण भएको थियो, र उहाँ नियमित रूपमा चर्च जाने गर्नुहुन्थ्यो । उहाँले  सन्‌ १८९९ मा  फ्लोरा बीलसँग विवाह गर्नुभयो, र सन्‌ १९०३ मा आफ्नो चिकित्सा अध्ययन पूरा गर्नुभयो । त्यही वर्ष उहाँ फरिन ख्रीष्टियन मिसनरी सोसाइटी (FCMS) द्वारा चीनमा मिसनरीको रूपमा नियुक्त हुनुभयो । उहाँको नियुक्तिपछि FCMS ले उहाँलाई तिब्बत मिसनमा डा. सुसाना कार्सनलाई मद्दत गर्न अनुरोध गर्‍यो, जसमा उहाँ सहजै सहमत हुनुभयो ।

चीनमा डा. शेल्टनले आफ्नी श्रीमती र डा. कार्सनसँग हिमशृङ्खलाको दुर्गम इलाकामा कठिन यात्रा गर्नुभयो र सन्‌ १९०४ मा तिब्बत सीमा नजिकको कङ्दिङ (ताचिएन्लु) पुग्नुभयो । उहाँले तिब्बती र चिनियाँ भाषा सिक्नुभयो र सुसमाचार प्रचार गर्न थाल्नुभयो । उहाँले बिरामी र घाइतेहरूलाई उपचार गर्न चीन-तिब्बत सिमाना छेउ छेउमा यात्रा गर्नुभएको थियो । तिब्बतको राजधानी ल्हासा पुग्ने लक्ष्यका साथ उहाँले बाथङमा मिसन स्थल स्थापना गर्नुभयो । सन्‌ १९०९ मा मेडिकल मिसनरी जेनास सानफोर्ड लोफ्टिस शेल्टनसँग काम गर्न आउनुभयो, तर आएको दुई महिना पछि टाइफस ज्वरले उहाँको मृत्यु भयो र उहाँलाई बाथङमा नै गाडियो ।

जेनास सानफोर्ड लोफ्टिसको समाधि (बथाङ)

सन्‌ १९१० मा डा. शेल्टनको परिवार आर्थिक समस्याले अमेरिका फर्कियो । बाथङदेखि ८९ दिन यात्रा गरेर उहाँहरू सान फ्रान्सिस्को पुग्नुभयो । उहाँले विदेशमा FCMS को मिसन कामको विस्तारको लागि कोष जुटाउने अभियानमा अमेरिकाभरि व्यापक रूपमा सभाहरूमा बोल्नुभयो र मानिसहरूले उहाँलाई “मिसनरी-नायक” भनी भन्न थाले । उहाँकी श्रीमती फ्लोराले आफ्नो पहिलो पुस्तक “सनशाइन एन्ड श्याडो अन द टिबेटन बोर्डर  (तिब्बती सिमानामा सूर्यको-प्रकाश र छाया) ” प्रकाशित गर्नुभयो । खाम क्षेत्रमा भइरहेको  युद्ध र अराजकताले सन्‌ १९१३ सम्म शेल्टन परिवारलाई चीन फर्कन ढिलाइ भयो । उहाँहरू जुलाई सन्‌ १९१४ मा दुई अन्य FCMS मिसनरी परिवारहरू ओग्डेन र हार्डिससँग बाथङ फर्कनुभयो । उहाँले तिब्बतीहरूसँगको लडाइँमा घाइते भएका चिनियाँ सैनिकहरूलगायत विभिन्न प्रकारका बिरामीहरूको पनि उपचार गर्दै तिब्बतीहरू बसोबास गर्ने  ठुलो क्षेत्रमा व्यापक यात्रा गर्नुभयो ।

सिमानामा सेवा गर्नु खतरनाक थियो किनभने चिनियाँ सैनिक वा लुटेराहरूको हातमा पर्ने सक्ने उच्च सम्भावना  थियो । सन्‌ १९२० मा अल्बर्टलाई डाँकुहरूले अपहरण गरे र दुई महिनासम्म यातना दिए । यो घटनापछि उहाँ निको हुन अमेरिका फर्कनुभयो । नेसनल जियोग्राफिक पत्रिकाले सन् १९२१ मा उहाँको एउटा लेख “पूर्वी तिब्बतका जनताबिच जीवन” प्रकाशित गर्‍यो र सोही वर्ष उहाँको पुस्तक पायनियरिङ इन तिब्बत प्रकाशित भयो । तर सन्‌ १९२१ को अन्तमा मिशन जारी राख्न उहाँ चाँडै नै बाथङ फर्कनुभयो । उहाँकी श्रीमती उहाँसँगै चीन जानुभयो, तर बाथङमा जानुभएन । उहाँहरूका दुई छोरीहरू विद्यालय अध्यापनको लागि अमेरिकामा नै रहे । शेल्टनको उद्देश्य अन्ततः ल्हासा पुग्नको लागि तिब्बतको भित्री भागहरूमा मिसनहरू स्थापना गर्नु थियो । पहिलो कदमको रूपमा मार्कम (आज “गाटुओ टाउन” भनिन्छ) तिर यात्रा सुरु गर्नुभयो । सन्‌ १९२२ फेब्रुअरी १६ मा मार्कम जाने बाटोमा उहाँलाई बाथङ बाहिर केही माइल टाढा चिनीयाँ लुटेराहरूले आक्रमण गरे । लागेको गोलीको चोटले केही दिनपछि ४७ वर्षको उमेरमा उहाँको मृत्यु भयो, र उहाँको मृत शरीरलाई  बाथङमा नै गाडियो ।

….., पेट्रस रिजनहार्ट, जेनास, सुसाना, शेल्टन, सुन्दर सिंह, …. सूचिको सुरु पनि हामीलाई थाहा छैन न त अन्त, यसरी कैयौँले आफ्नो जीवन तिब्बतको लागि बिउको रूपमा दिइसके । अब फसलका प्रभुलाई प्रार्थना गर्ने कर्तव्य हामीमाथि छ भन्ने कुरालाई नबिर्सौँ ।

अल्बर्ट शेल्टनले खिचेका तस्बिरहरू
शेल्टनका छोरीहरू डोरिस र डोरोथी तिब्बतीसँग
शेल्टनका छोरीहरू डोरिस र डोरोथी तिब्बतीसँग
शेल्टनका छोरीहरू तिब्बती केटीहरूसँग
शेल्टनका छोरीहरू तिब्बती केटीहरूसँग
डोरिस र डोरोथी
डोरिस र डोरोथी
शेल्टन आफ्नो अन्तिम यात्रमा
शेल्टन आफ्नो अन्तिम यात्रामा
खाम तिब्बतीहरू
खाम तिब्बतीहरू

ए.आइ. प्रयोग गरि रङ्गिन बनाएपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *