असल उद्देश्य वा परिणामले माध्यमलाई सही ठहराउँदैन ।

प्राय: परिणामलाई नै माध्यमको न्यायकर्ताको रूपमा हामीले हेर्ने गर्छौँ, र इसाइत्वमा पनि असल परिणाम उत्पन्न भएमा त्यो काम परमेश्वरको स्वीकृति पाएको हामी मान्ने गर्छौँ। साथै मानिसको असल कर्म र त्यसको राम्रो नतिजाले उसको जीवनशैलीलाई उचित ठहराउँछ भनी पनि हामी मान्ने गर्छौँ। तर यस प्रकारको मान्यताले विश्वभरि नै इसाइत्वलाई बाहिरको कुराहरूले भन्दा पनि बढी नोक्सान पुराएको छ। धर्मशास्त्रलाई अध्ययन गर्न समय नदिने आजको पुस्ताको लागि भावना र परिणाम नै ईश्वर भएका छन्‌।

यो कुरालाई हामीले सिक्नु पर्छ कि उद्देश्य वा परिणाम राम्रो भयो भन्दैमा त्यसको लागि प्रयोग भएको माध्यम सही स्थापित हुँदैन। इसाइत्वको लागि तराजुचाहिँ परिणामहरू होइनन्‌, तर धर्मशास्त्र हो । धर्मशास्त्रसँग मेल नखाने कुनै पनि माध्यम त्यसले जत्ति महान्‌ असल परिणाम ल्याए पनि गलत हो, त्यो माध्यम इन्कार र खण्डन गरिन पर्ने कुरा हो । साथै कुनै व्यक्तिका कामहरूको फल जतिसुकै राम्रो देखा परे पनि जीवनशैली धर्मशास्त्रअनुसार भएन भने त्यस व्यक्तिको अनुसरण गर्नु हुँदैन।

“त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईँको नाउँमा अगमवाणी बोलेनौँ? तपाईँको नाउँमा भूतहरू धपाएनौँ। र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ र?” मत्ती ७:२२

अगमवाणी बोल्नु, भूतहरू धपाउनु र शक्तिशाली काम गर्नु, त्यो पनि येशूकै नाउँमा, के असल परिणामहरू होइनन्‌ र? तर येशूले भन्नुभयो, “अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ ”

येशूले तिनीहरूमा के खोज्नुभयो ? पिताको इच्छा पालन गर्नु :

“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्‌। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।”

तिनीहरूका चमत्कारी चिन्हहरू र त्यसका परिणामहरू राम्रा थिए, यद्यपि तिनीहरूको जीवन (जिउने तरिका) पिताको इच्छाअनुसार थिएन, त्यसैले तिनीहरू परमेश्वरको अगाडि ‘अधर्म काम गर्नेहरू’को रूपमा थिए।

नयाँ करारमा सेवा गर्ने हाम्रो लागि त्यो पिताको इच्छा स्पष्ट रूपमा नयाँ करारमा लेखिदिएको छ। त्यो मापदण्डभित्र नपर्ने जुनसुकै माध्यमलाई पनि हामीले स्वीकार गर्नु हुँदैन।

परमेश्वरको सन्दुकलाई यरूशलेममा ल्याउने दाऊदको प्रयास एकदमै उच्च ईश्वरीय प्रयास थियो, तर कहातीहरूले मात्र काँधमा बोक्नु पर्ने (गन्ती ४:१५) सन्दुकलाई गोरु गाडामा बोकेको तरिका परमेश्वरलाई मन परेन, र सन्दुकलाई छुने उज्जाहलाई, जसलाई छुने अनुमति उनलाई थिएन, परमेश्वरले प्रहार गर्नुभयो। । २ शमूएल ६:१-८

परमेश्वरले दाऊदलाई अस्वीकार गर्नुभयो, किनभने दाऊदको उद्देश्य महान् थियो, तर तिनले त्यसलाई परमेश्वरको नियमअनुसार पूरा गरेनन्‌। दोस्रो पटक दाऊदले परमेश्वरको सन्दुकलाई असल तरिकाले बोक्न लगाएर ल्याए । २ शमूएल ६:१२-१५

परमप्रभुले मोशालाई, “यस चट्टानलाई हुकुम गर् र चट्टानबाट पानी निस्कनेछ,” (गन्ती २०:८) भनी भन्नुभयो, तर मोशाले चट्टानलाई हिर्काए। के भयो? चट्टान फुट्यो र “तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो , अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए।” कति असल परिणाम? १० लाखभन्दा बढी मानिसहरूको तृष्णा मेट्यो, तर त्यसले माध्यमलाई सही ठहराएन।

यहाँ मोशाको जीवन, उद्देश्य र काम मात्र होइन नतिजा पनि असल थियो, तर परमेश्वर प्रसन्न हुनुभएन, किनभने अपनाएको तरिका परमेश्वरको आदेशको विपरीत थियो। मोशा र हारून दुवैले प्रतिज्ञा गरेको देशमा प्रवेश गर्ने अवसरलाई गुमाए।

सुनको बाछो अगि बलिदान गर्न लागेका यारोबामलाई चेतावनी दिन परमेश्वरले बेथेलमा अगमवक्ता पठाउनुभयो। (१ राजा १३:१-५) अगमवक्ताले चमत्कारी चिन्हसहित खबर घोषणा गरेपछि, “तैँले त्यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो नफर्कनू,” भन्ने परमेश्वरको आज्ञा विपरीत अर्को अगमवक्ताको झूटो अगमवाणी सुनेर आएको बाटोमा फर्की आएर रोटी खाइ पानी पिएकाले एउटा सिंहले अगमवक्तालाई बाटोमा भेट्टाएर मार्‍यो। (१ राजा १३:२०-२४)

परमेश्वरले जुन कामको लागि पठाउनुभएको थियो, त्यो पूर्ण रूपमा पूरा भयो, यद्यपि नियम तोडेको कारण उनको मृत्यु भयो। आज पनि परमेश्वरले कामको समापन मात्र होइन, माध्यम र जीवन दुवैलाई पनि हेर्नुहुन्छ।

आज हामी कति पल्ट परिणामको महानतालाई हेरी सेवा अथवा सेवकहरूको मूल्याङ्कन गर्छौँ, र अपनाएका माध्यमहरू धर्मशास्त्रमा आधारित छन्‌ कि छैनन्‌ भनी हेर्न छोड्छौँ। यो खराब बानी हो। यदि माध्यम धर्मशास्त्रसम्मत छैन भने प्रभाव जत्ति ठुलो भए पनि त्यो गलत नै हो।

धेरै जसो चमत्कार र चिन्हहरू प्रदर्शन गर्नेहरूको जीवन धर्मशास्त्रसम्मत नभएका यी दिनहरूमा परिणामहरूलाई मात्र हेरेर तिनीहरूले अपनाएका माध्यमहरूलाई नपछ्याउनुहोस्‌। ती माध्यमहरू धर्मशास्त्रसम्मत छ कि छैन भन्ने कुरालाई हेरेर मात्र पछ्याउनुहोस्‌।

सही इसाइत्वको स्थापना हरेक इसाईको कर्तव्य हो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *