प्रेरितहरूको विश्वासको सार

प्रेरितहरूको विश्वासको सार, जसलाई एपस्टोलिकम (Apostolicum) पनि भनिन्छ, रोमन क्याथोलिक, एङ्गलिकन र धेरै प्रोटेस्टेन्ट मण्डलीहरूले अपनाएको विश्वासको अभिव्यक्तिको रूपमा रहँदै आएको छ । परम्पराले यसको रचनाको श्रेय १२ जना प्रेरितहरूलाई दिए तापनि यो प्रेरितहरूद्वारा लेखिएको होइन । वास्तवमा यो बप्तिस्माको लागि तयारी गर्नेहरूका साथ विशपहरूद्वारा गरिएको प्रारम्भिक सोधपुछमा प्रयोग भएका प्रश्नहरूबाट स्थापित हुन आएको हो । लगभग २०० बाट यी सोधपुछहरूको दृष्टान्त हिप्पोलिटसको “प्रेरितिय परम्परा” पुस्तकमा उल्लेख गरिएको छ । बप्तिस्मा दिनु भन्दा अगि विशपले सोध्नुहुन्थ्यो, “के तपाई सर्वशक्तिमान् पिता परमेश्वरमा विश्वास गर्नुहुन्छ?” र त्यसपछि इसाई विश्वासको मौलिक सिद्धान्त सम्बन्धी प्रश्नहरूमा अगि बढ्नुहुन्थ्यो । यी प्रश्नहरूको उत्तर स्वरूपको पुष्टिहरू पछि विश्वासको सारको रूपमा विकसित भए, जसलाई प्रायः “बप्तिस्माको विश्वासको अभिव्यक्ति” भनिन्छ ।

अहिले प्रयोगमा भएको प्रेरितहरूको विश्वासको सार तेस्रो र चौथो शताब्दीको रोमन क्यथोलिक मण्डलीमा प्रयोग गरिएको बप्तिस्माको विश्वासको अभिव्यक्तिसँग मिल्दोजुल्दो छ । यसको अन्तिम संस्करणले छैटौँ शताब्दीको अन्त्यदेखि ७ औँ शताब्दीको सुरुको समयभित्र दक्षिण पश्चिमी फ्रान्समा प्रस्ट रूप पाएको थियो । बिस्तारै यसले उति बेला प्रयोगमा रहेका अन्य बप्तिस्माको विश्वासको अभिव्यक्तिहरूलाई प्रतिस्थापन गर्‍यो, र इनोसन्ट III (सन्‌ ११९८-१२१६) पोप भएको समयमा पश्चिमी क्षेत्रमा सम्पूर्ण क्याथोलिक मण्डलीहरूको आधिकारिक विश्वासको सारको रूपमा मान्यता प्राप्त गर्‍यो । विश्वासको सारलाई मान्ने प्रोटेस्टेन्ट मण्डलीहरूले विश्वव्यापी रूपमा प्रेरितहरूको विश्वासको सारलाई अँगालेका छन्, र यसलाई आफ्ना आराधना सेवामा समावेश गरेका छन्‌ ।

यद्यपि, युनाइटेड मेथोडिस्ट मण्डली जस्ता कोही-कोहीले “पातालमा ओर्लनुभयो,” भन्ने वाक्य खण्डलाई छुट्टाएका छन्‌ । एङ्गलिकन मण्डलीहरूको प्रेरितहरूको विश्वासको सारमा यस वाक्यको खण्डलाई, “मृतलोकमा ओर्लनुभयो” भनी उल्लेख गरिएको छ । ग्रीक भाषामा प्रयोग भएका शब्दहरूअनुसार (“katelthonta eis ta katôtata”) यस खण्डलाई “तल्लो भागमा ओर्लनुभयो” भनी अनुवाद गर्न सकिन्छ, जसको अर्थ “पातालमा ओर्लनुभयो” नै हुन्छ ।

नेपालमा पनि नेपाली भजन किताबहरूमा भएको प्रेरितहरूको विश्वासको सारमा “जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो” भन्ने वाक्य खण्ड पछि आउनुपर्ने “पातालमा ओर्लनुभयो,” भन्ने वाक्य खण्ड छुट्ट्याएको छ । यो “पातालमा ओर्लनुभयो,” भन्ने वाक्यको खण्ड एफिसी ४:९ र १ पत्रुस ३:१९ पदहरूको आधारमा समावेश भएको हो ।

यो विश्वासको सार आधिकारिक रूपमा पूर्वी अर्थोडक्स मण्डलीहरूमा मान्यता प्राप्त छैन । पूर्वी अर्थोडक्स मण्डलीहरूमा यसको सट्टामा नाइसेन विश्वासको सारलाई मान्यता दिइन्छ । जसमा पिता र पवित्र आत्मासँग ख्रीष्टको सम्बन्धको प्रकृति, त्रिएकता र ख्रीष्टका ईश्वरत्वसम्बन्धित सत्यहरूलाई धेरै विशिष्टताका साथ व्यक्त गरिएको छ ।

भिन्नताहरूको बाबजुद, प्रेरितहरूको विश्वासको सार मूल इसाई विश्वासको एकताबद्ध अभिव्यक्तिको रूपमा खडा छ ।

पूर्ण प्रेरितहरूको विश्वासको सार:

म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि । अनि उहाँका एकले पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भ धारण हुनुभयो, कन्ये मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, पातालमा ओर्लनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढिजानुभयो, अनि सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ; जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ । म विश्वास गर्दछु पवित्र आत्मामाथि; पवित्र मण्डलीमाथि; पवित्रहरूको सङ्गतिमाथि; पाप मोचनमाथि; शरीरको पुनरुत्थानमाथि; र अजम्मरी जीवनमाथि । आमिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *