साधु सुन्दर सिंहको उपवास
सन् १९१२ को अन्ततिर साधु सुन्दर सिंह बङ्गालको कलकत्ता जानुभयो, साधु सुन्दर सिंहलाई क्यानडामा भएको सिख समाजको बीचमा मिसनरीको रूपमा पठाउने निर्णय भएको हुँदा उहाँले त्यो निर्णयलाई स्वीकार गर्न तयार हुनुभयो । तर त्यति बेला एउटा भारतीयलाई क्यानडा जान राहदानी पाउन असम्भव छ भनी थाहा पाएर त्यो योजना रद्द भयो ।
उहाँ कलकत्ताबाट फेरि मुम्बईसम्म सेवा गर्दै त्यहाँबाट फेरि उत्तर-भारत जानुभयो । उहाँको बप्तिस्मा भइसकेपछि उहाँमा दुईवटा मुख्य गहिरो इच्छाहरू थिए, एउटा ख्रीष्ट जन्मेको र सेवा गरेको ठाउँलाई हेर्न प्यालेस्टाइन जानु र अर्कोचाहिँ येशूले जसरी ४० दिन र ४० रात उपवास बस्नु थियो । पहिलो इच्छालाई पूरा गर्न उहाँ सन् १९०८ मा मुम्बई जानुभएको थियो, तर विभिन्न कारणले त्यो यात्रा सफल हुन नसकेर उहाँ फर्किनुभएको थियो । चार वर्ष पछाडि उहाँ क्यानडा जान तयार हुँदा त्यो यात्रा पनि सम्भव भएन, र अहिले साधुको मन दोस्रो इच्छालाई पूरा गर्नुतिर फर्क्यो । यो प्रार्थना र उपवासले परमेश्वरसँगको घनिष्ठ सम्बन्धको आवश्यकता पूरा गर्छ र सेवामा चाहिएको शक्तिलाई बढाउँछ भनी उहाँले विश्वास गर्नुभयो ।
यतिखेरको समयमा नै साधुले रोमन क्याथोलिक चिकित्सक स्विफ्टलाई भेट्नुभयो र उहाँसँग उत्तरतिर यात्रा गर्दा उहाँहरूले त्यो उपवासको बारेमा छलफल गर्नुभयो । चिकित्सकले साधुलाई त्यो इच्छाबाट फर्काउन धेरै प्रयास गर्नुभयो, र त्यसले निश्चय नै मृत्यु ल्याउँछ भनी भन्नुभयो । साधुले आफ्नो इच्छालाई त्याग्न नमानेपछि चिकित्सकले उहाँका मुख्य साथीहरूको ठेगाना दिन बिन्ती गर्नुभयो र सुन्दरले दिनुभयो । चिकित्सक क्याथोलिक मिसन भवनमा जानुभयो, र साधु उपवास र प्रार्थनामा समय बिताउने निर्णयसहित उहाँबाट छुट्नुभयो । सन् १९१३ सालको सुरुमा हरिद्वार र देहरादूनको बीचमा भएको जङ्गली भू–भागमा सुन्दर एक्लै आफ्नो परमेश्वरलाई भेट्न जानुभयो ।
दिनहरू बितेर हप्ताहरू भए र उहाँको बारेमा कुनै खबर बाहिरी संसारमा पुगेन । दोस्रो हप्ता बितिसकेपछि क्याथोलिक चिकित्सकले पक्कै सुन्दर जङ्गलमा मर्नुभयो भनी सम्झनुभयो, र सुन्दरका साथीहरूलाई उहाँको मृत्युको खबर पठाउनुभयो । हप्ताहरू बित्दै जाँदा यो हुन सक्ने कुरा भनी मानिएकोले उहाँको मृत्यु भएको खबर सबै ठाउँमा स्विकारियो । विभिन्न पत्रिकाहरूमा उहाँको श्रद्धाञ्जली छापियो, र उहाँको सम्झनामा एउटा सङ्गति राखियो, साथै उहाँको लागि एउटा सम्झनाको पाटी राख्न शिमलाको मण्डलीमा पैसा सङ्कलन भयो ।
यतिखेर साधु जङ्गलमा भोजनबिना दिनानुदिन कमजोर हुँदै जानुभएको थियो । साधुले पहिला नै केही हुन सक्छ भन्ने चेतावनी पाएको कारण दिनहरू गन्नको लागि ४० वटा ढुङ्गा खोजिराख्नुभएको थियो र हरेक दिनमा एउटा ढुङ्गा फाल्नुहुन्थ्यो तर अन्तमा उहाँले त्यो पनि गर्न सक्नुभएन । उहाँमा देख्ने र सुन्ने क्षमता पनि हट्यो, अचेत अवस्थामा आफ्ना वरिपरि हुने कुराहरूलाई थाहा पाउन सके तापनि जीवन भएको कुनै चिन्ह देखाउन नसक्ने भएर लडिरहनुभएको थियो ।
उपवासको सुरुका समयहरूमा खानेकुराको अभावले तीव्र रूपले पेट पोलेको अनुभव गर्नुभयो, तर त्यो चाँडै नै हटेर गयो । उपवासका समयहरूमा उहाँले ख्रीष्टलाई देख्नुभयो तर त्यो शारीरिक आँखाले होइन, जुन आँखाहरू त्यति बेला कमजोर भएका थिए, आत्मिक दर्शनमा उहाँले देख्नुभयो, छेडेका हातहरू, रगत बगिरहेका पाउहरू र प्रकाशमय मुहारसहित येशू देखा पर्नुभयो । त्यो अवधिभरि नै उल्लेखनीय रूपमा शान्ति र आनन्दको पूर्णताको अनुभव गर्नुभयो …. वास्तवमा त्यो अनुभव यति ठूलो थियो कि उपवासलाई त्यागिदिने कुनै पनि परीक्षा उहाँमा आएन ….
यो अवस्थामा हुँदा जङ्गलमा बाँस काट्न आएकाहरूले उहाँलाई देखे, साधुको वस्त्र पहिरिएको देखेर उहाँलाई आफ्नो पछ्यौरामा हालेर ऋषि केश पुर्याई त्यहाँबाट देहरादून पुर्याए । त्यहाँबाट रथमा राखेर एनफिल्ड (Annfield) पुर्याए । उहाँले पार गरेर आएको घटनाले गर्दा उहाँको रूप पूर्ण रूपमा फेरिएको थियो र उहाँका इसाई साथीहरूले चिन्न सकेनन्; उहाँको नयाँ करारको पुस्तकमा भएको नामद्वारा मात्र उहाँ को हो भनी चिनियो । यी साथीहरूले उहाँलाई चाहेको उपचार र वास्ता पुर्याएर फेरि पूर्ण जीवित पारे र मार्च महिनातिर फेरि यात्रा गर्न सक्ने गरी पूर्ण रूपमा स्वस्थ हुनुभयो । उहाँ शिमलामा जाँदा त्यहाँ आफ्नो मृत्युको बारेमा फैलिएका कुराहरू सबै सुन्नुभयो ।
उपवासले आफ्नो आत्मिक जीवनमा एउटा स्थायी प्रभाव छोडेर गयो भनी साधुले पक्का रूपमा भन्नुहुन्छ । उहाँको जीवनमा भएका केही शङ्काहरू पूर्ण रूपमा हटेर गयो । कुनै बेला जीवनमा आफूले महसुस गर्ने शान्ति र आनन्द आफ्नो जीवनको एउटा रहस्य शक्तिबाट आफूभित्रबाट उम्रेर आएको होला र स्वर्गीय उपस्थितिद्वारा आएको होइन होलाजस्तै उहाँलाई लाग्थ्यो । तर उपवासको समयमा उहाँका शारीरिक शक्तिहरू पूर्ण रूपमा रित्तिएको अवस्थामा त्यो शान्ति उल्लेखनीय रूपमा बढ्यो र बलियो भयो । यसले उहाँलाई आफूभित्र भएको शान्ति मानिसको मनमा प्राकृतिक रूपमा हुने कामहरूको परिणाम होइन तर स्वर्गबाट आएको हो भन्ने विश्वस्त पार्यो । मानिसको आत्मा दिमागभन्दा छुट्टै कुरा हो भनी थाहा पाउनु उपवासको अर्को एउटा परिणाम थियो । आफ्नो शरीर कुहेर गइसकेपछि आफ्नो आत्मालाई के हुन्छ भन्ने कुरामा उहाँ अचम्म मान्नुहुन्थ्यो । तर उहाँले उपवासका समयहरूमा आफ्नो शरीर कमजोर हुँदै गएको कुरालाई थाहा पाउनुभयो, त्यसै बेला आत्माचाहिँ बढी सक्रिय र सजग भएको देख्नुभयो, यसबाट आत्मा पूर्ण रूपमा दिमागभन्दा छुट्टै छ भन्ने कुराको निष्कर्षमा आउनुभयो । ‘दिमाग आत्माले काम गर्ने कार्यस्थल हो । दिमाग एउटा वाद्यजस्तै हो र आत्मा त्यसलाई बजाउने व्यक्तिजस्तै हो । एक दुई वटा स्वरहरू गलत हुन पुग्न सक्छ र आवाज नआउन सक्छ तर बजाउने व्यक्ति नै छैन भन्ने त्यसको अर्थ लाग्दैन ।’
वनमा बसेको उपवासले उहाँको जीवनमा एउटा स्थायी प्रभाव छोडेर गयो भनी उहाँले भन्नुहुन्थ्यो । “मैले ४० दिनको उपवास बस्नको लागि प्रयास गरेको समयभन्दा अघिका समयहरूमा म बारम्बार परीक्षाहरूको आक्रमणमा पर्थेँ, तपाईँले मेरो बारेमा किताब लेख्दा (लेखक अप्पासामीलाई भन्नुभएको थियो) मेरा कमजोरीहरूको बारेमा पनि लेख्नुपर्छ । विशेष गरी म थकित भएको बेलामा मानिसहरू मसँग कुरा गर्न र प्रश्न सोध्न आउँदा मलाई मनमा रिस उठ्थ्यो । मैले अझै पनि त्यो समस्या भोगिरहेको छु तर उपवास बस्नुभन्दा अघि जति धेरै थियो त्यतिचाहिँ होइन । वास्तवमा मेरा साथीहरूले त्यस्तो देखिँदैन भनी भन्नुहुन्थ्यो तर उनीहरूको कुरा ठिकै भए पनि त्यो कमजोरीपन नै हो, जुन कुरा मेरो जीवनमा भएको म चाहन्नँ । त्यसले ममा समस्या र शङ्कालाई उत्पन्न गराएको छ तर त्यो आफ्नो शरीरमा दिइएको काँढाको बारेमा पावलले लेख्नुभएजस्तै मलाई विनम्र राख्नको लागि हुन सक्छ, उहाँको समस्या पनि यही नै थियो जस्तो मलाइ लाग्छ । अथवा त्यो शरीरमा जिइरहेको कारण हुन सक्छ तर त्योचाहिँ कारण नहोस् भनी म चाहन्छु । उपवासमा जानुभन्दा अगाडि अरू धेरै परीक्षाले पनि मलाई सताउँदथ्यो । भोक र तिर्खाको दुःख भोग्दा परमेश्वरले किन जुटाउनुभएन भनी म सोध्थेँ र गुनासो गर्थेँ । उहाँले मलाई साथमा कुनै पैसा बोक्नुहुँदैन भनी भन्नुभएको थियो, साथमा पैसा बोकेको भए मलाई आवश्यक पर्ने कुराहरू किन्न सक्थेँ तर उपवासपछि शारीरिक कठिनाइहरू भोग्नुपर्दा म भन्थेँ, ‘यो मेरो पिताको इच्छा हो; मैले गरेको कुनै कामले गर्दा यो भोग्न परेको हुन सक्छ ।’
“उपवासभन्दा अघि कुनै-कुनै बेला साधुको जीवनलाई त्यसको कठिनाइसहित त्यागेर मेरो बुबाको घरमा भएको सुख विलासमा फर्केर विवाहित आरामदायी जीवन जिउने परीक्षामा पर्थेँ । म एउटा असल इसाई भएर परमेश्वरसँग घनिष्ठ सम्बन्ध भएको जीवन त्यहाँ पनि जिउन सक्दिनँ र? अरूको लागि पैसा र घरसहित आरामदायी जीवन बिताउनु पाप होइन भन्ने मैले देखेँ तर परमेश्वरले मेरो लागि छुट्टै प्रकारको बोलावट दिनुभएको छ, र परमेश्वरले मलाई दिनुभएको स्वर्गीय आनन्दको (आत्मामा स्वर्गलोकमा उठाइलगिनु) वरदान सबै घरभन्दा उत्तम छ ।”
यो डर ल्याउने किसिमको अनुभवले साधुले विश्वास गरेजसरी नै उहाँलाई धेरै आत्मिक प्रकाशहरू पनि दियो । दिनहरूको गन्ती थाहा नपाए पनि र चालिस दिन पूरा नभए तापनि यी आत्मिक प्रकाशहरू जीवनलाई वेदीमा राखेर पाउनुभयो ।