अलेक्ज्याण्डर डफ
जन्म | : सन् १८०३-०४-१५ |
जन्म स्थान | : पेर्थशायर, स्कटल्यान्ड |
दर्शन स्थल | : भारत |
निधन | : सन् १८७८-०२-१२ |
एक पल्ट एक जना अनुभवी मिसनरीले स्कटल्यान्डको मण्डलीलाई भारतमा मिसन कार्यको लागि जान अपिल गर्दै हुनुहुन्थ्यो, तर मण्डलीबाट कुनै प्रतिक्रिया आएन । प्रवचनको बीचमा उहाँलाई हृदयाघात भयो र उहाँ बेहोस हुनुभयो । डाक्टरहरूको सल्लाहको बाबजुद पनि उहाँ पुनः आफ्नो प्रवचन समाप्त गर्न पुलपीटमा उभिनुभयो। उहाँले भन्नुभयो, “जब रानी भिक्टोरियाले भारतमा स्वयंसेवकको रूपमा जान आह्वान गर्नुहुन्छ सयौँ युवाहरूले जान तयार हुन्छन्, तर जब राजा येशूले बोलाउनुहुन्छ कोही जाँदैनन्।” सबै मौन नै रहे । त्यसपछि मिसनरीले एउटा निष्कर्षमा आएर भन्नुभयो, “धेरै राम्रो, म वृद्ध भए पनि म आफै भारत फर्कनेछु। म गङ्गाको किनारमा सुत्न सक्छु र म मर्न सक्छु र यसरी म भारतका जनतालाई थाहा दिन सक्छु कि स्कटल्यान्डमा एक जना मानिस थिए जसले उनीहरूलाई माया गर्थे।” यस क्षणमा मौनताको बाध फुटेर धेरै युवाहरूको रोदनलाई बाटो दियो, धेरैले भन्न थाले, “म जानेछु! म जानेछु।” त्यो अनुभवी मिसनरी अरू कोही थिएन, उहाँ डा. अलेक्ज्याण्डर डफ हुनुहुन्थ्यो।
पेर्थशायरमा जन्मेका अलेक्ज्याण्डर एक किसानका छोरा हुनुहुन्थ्यो। उहाँले सेन्ट एन्ड्रयूज विश्वविद्यालयबाट कला र धर्मशास्त्रमा स्नातक गर्नुभयो, जहाँ उहाँले विद्यार्थी मिसनरी समाजको स्थापना गर्नुभयो । आफ्नो अध्ययनको लगत्तै उहाँले स्कटल्यान्डको मण्डलीले भारतमा आफ्नो पहिलो मिसनरी बन्न गरेको प्रस्तावलाई स्वीकार गर्नुभयो । बाटोमा केही जहाज दुर्घटनाहरूलाई सामना गर्न परे तापनि डफ सन् १८३० मा आफ्नी श्रीमतीसहित कलकत्ता आइपुग्नुभयो।
डफले सुरुमा आफ्नो सबै परिश्रमलाई विद्यालयहरू स्थापना गर्नुमा लगानी गर्नुभयो। शिक्षा भनेको सुसमाचारको एउटा माध्यम हो जसले उच्च जाति हिन्दु र मुस्लिमहरूको बिचमा प्रवेश गर्न सक्छ भन्ने उहाँको दृढ विश्वास थियो। उहाँले स्थानीय धार्मिक विश्वासलाई चुनौती दिन बाइबल अध्ययनलाई विज्ञानसँग जोडेर इसाई सिद्धान्तमा स्थापित पश्चिमी शिक्षा प्रणालीलाई परिचय गराउनुभयो । स्कटिश चर्च कलेज र कलकत्ता विश्वविद्यालय भारतमा उनको शैक्षिक प्रयासका केही स्थायी प्रमाणहरू हुन्। डफको काम भारतभन्दा बाहिर फैलियो। सुसमाचारको क्षितिज विस्तार गर्दै र मिसनरीहरूलाई भर्ती गर्दै उहाँले अमेरिका, युरोप र अफ्रिकाभरि प्रचार गर्नुभयो । डफले सन् १८७८ मा आफ्नो स्वर्गीय निवासमा प्रवेश गर्नु अघि ख्रीष्टको लागि हजारौँ आत्माहरू जित्नुभयो र ख्रीष्टको सेवा गर्न सयौँ सेवकहरूलाई तालिम दिनुभयो ।
आज अग्लो हिमालहरूमा ख्रीष्टको सुसमाचार नसुनी मरिरहेका नेपाली र तिब्बतीहरूलाई माया गर्ने मानिसहरू छन् भनी थाहा दिन के डफ जस्ता मानिसहरू आज छैनन् र ?
हे परमप्रभु कहिलेसम्म होला नेपाली मण्डलीहरू स्वार्थको बन्धनमा नै बाँधी रहने !