डेभिड जोन्स

जन्म: सन्‌ १७९६ जुलाई
जन्म स्थान: इङ्गल्याण्ड
दर्शन स्थल : माडागास्कर
निधन : सन्‌ १८४१ जुन १

डेभिड जोन्स एक अग्रगामी युरोपेली मिसनरी थिए, जसलाई माडागास्करमा उहाँले गरेको निडर सेवकाईको लागि सम्झना गर्ने गरिन्छ । १६ वर्षको उमेरमा उहाँले लन्डन मिसनरी सोसाइटी (LMS) मा मिसनरी हुनको लागि प्रस्ताव राख्नुभयो। सोसाइटीले सुरुमा उहाँलाई दक्षिण अफ्रिकामा मिसनरी सेवाको लागि नियुक्त गर्‍यो । तर अर्को एक जना मिसनरीले माडागास्कर जान इन्कार गरेकोले सोसाइटीले जोन्सलाई उनको ठाउँमा नियुक्त गर्‍यो ।

जोन्स अर्को मिसनरी थोमस बेभानसँग सन्‌ १८१८ अगस्तमा तामाटावे आइपुग्नुभयो । स्थानीयहरूले तिनीहरूलाई न्यानो स्वागत गरे, र चाँडै जोन्सले स्थानीयहरूको लागि विद्यालय स्थापना गर्नुमा सफल हुनुभयो । तर वर्ष समाप्त हुनु अघि जोन्स आफ्नो भर्खरै जन्मेको बच्चा र श्रीमतीलाई मलेरियाको कारण गुमानुभयो। थोमस बेभानको पूर्ण परिवार पनि केही महिनामै मलेरियाले मर्‍यो । जोन्स आफैँ बिरामी हुनुभयो र टापुमा एक्लो हुनुभयो।

ख्रीष्टको लागि साँचो सिपाही भएको जोन्सले जबसम्म माडागास्करमा सुसमाचारको आगो बल्दैन र मानिसहरूले परमेश्वरको मुक्तिको ज्योति देख्दैनन् तबसम्म त्यो ठाउँ नछोड्ने भनी प्रतिज्ञा गर्नुभयो । उहाँ उपचारको लागि मौरिससमा जानुभयो, र निको भइसकेपछि त्यहाँ स्थानीय मानिसहरूमाझ सेवा गर्न थाल्नुभयो। त्यहाँ उहाँले मालागासी भाषा सिक्नुभयो र त्यसको लागि सुहाउँदो लिखित ढाँचा विकास गर्नुभयो ।

सन्‌ १८२० मा उहाँ माडागास्कर फर्कनुभयो र एक तीव्र सुसमाचार सेवकाई सुरु गर्नुभयो । धेरैले ख्रीष्टलाई स्वीकार गर्न थाले र भनिन्छ कि, उहाँले प्रचार गर्दा मण्डलीहरू यति भरिएका हुन्थे कि ढोका र झ्यालहरू पनि बन्द गर्न मिल्दैन थियो । सन्‌ १८२१ मा उहाँ एनि मेरिलाई विवाह गर्नुभयो । उहाँ चाँडै लन्डन मिसनरी सोसाइटीको अर्को मिसनरी डेभिड ग्रिफिथ्ससँग सामेल हुनुभयो; र उहाँहरूले मिलेर मालागासीमा बाइबल अनुवाद गर्न कडा मेहनत गर्नुभयो । सन्‌ १८३५ मा लन्डन मिसनरी सोसाइटीद्वारा छापिएको पवित्र धर्मशास्त्रको अधिकांश संस्करण उहाँहरूको काम थियो ।

जोन्स माडागास्करमा शिक्षा प्रणालीलाई पूर्ण रूपमा पुनर्जीवित गर्नको लागि पनि चिनिनु हुन्थ्यो । राजा राडामाबाट प्रोत्साहन पाएर उहाँले “मालागासी स्कुलिङ सोसाइटी” स्थापना गर्नुभयो, जसमा सन्‌ १८२८ सम्म ३७ वटा विद्यालयहरू थिए । जोन्स सन्‌ १८३० मा खराब स्वास्थ्यको कारण घर फर्कनुपर्‍यो, जहाँ उहाँले आफ्नो अधिकांश समय युवा मिसनरीहरूलाई प्रचार र प्रेरणा दिनुमा बिताउनुभयो ।

सन्‌ १८३८ मा जोन्स माडागास्कर फर्कनुभयो र सन्‌ १८४१ मा मलेरियाले मौरिससमा उहाँको मृत्यु हुने बेलासम्म परमेश्वरको सेवामा लागिरहनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *