एर्नेस्ट ओलिभर

जन्म: सन्‌ १९११-०८-२०
जन्म स्थान: इङ्गल्यान्ड
दर्शन स्थल: नेपाल र भारत
निधन: सन्‌ २००१-०९-२०

एर्नेस्ट ओलिभर बिसौँ शताब्दीमा इङ्गल्यान्डका इभान्जेलिकल मिसनरी आन्दोलनमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक जना हुनुहुन्थ्यो  । भक्तिसाथ जिउने एक ब्याप्टिस्ट परिवारमा जन्मेका ओलिभर पन्ध्र वर्षको हुँदा बप्तिस्मा लिनुभयो  । उहाँले सन्डे स्कुलमा पढाउन थाल्नुभयो; र अठार वर्षको उमेरमा स्थानीय मण्डली र मिसन हलहरूमा प्रचार गर्न सुरु गरिसक्नुभएको थियो  । एक पटक जब उहाँ आफ्ना मण्डलीका साथीहरूसँग सर्कसमा जानुभएको थियो, त्यहाँ उहाँले धेरै आत्माहरूलाई बचाउन बाँकी हुँदा मनोरञ्जनमा आफ्नो समय खेर फाल्ने बारेमा स्पष्ट रूपमा परमेश्वरले उहाँसँग बोलिरहनुभएको महसुस गर्नुभयो  । त्यस दिन उहाँले आफ्नो जीवनको लागि परमेश्वरको योजना बुझ्नुभयो र आफूलाई मिसनरी सेवाको लागि अर्पण गर्नुभयो ।

सन्‌ १९३३ मा, उहाँले आफ्नो वास्तुशिल्पीय सुलेखन पेसा त्यागेर धर्म शास्त्रीय प्रशिक्षणको लागि अल नेसन्स (All Nations) बाइबल कलेजमा भर्ना हुनुभयो । त्यहाँ ओलिभरले रिजियन्स बिआन्ड मिसनरी युनियन (RBMU) को तर्फबाट कङ्गोमा आफूलाई मिसनरी बन्न तयार गर्दै हुनुहुन्थ्यो । तर एउटा प्रार्थना सभामा उहाँले नेपाल र बिहारको गङ्गा उपत्यकामा गएको विनाशकारी भूकम्पको बारेमा सुन्नुभयो, र कङ्गोको सट्टा आफू नेपाल जानु परमेश्वरको इच्छा हो भन्ने उहाँलाई महसुस भयो ।

ओलिभर सन्‌ १९३५ मा उत्तर बिहारको मोतिहारी आइपुग्नुभयो । आर.बि.एम.युले पठाएको डा. सेसिल डंकनले रक्सौलमा स्थापना गरेको डंकन अस्पतालमा औषधि उपचार बारे थप जान्ने प्रयासमा रहँदा त्यहाँ ओलिभरले नेपाली राजपरिवारका एक साधारण सदस्य नरराज शमशेर जङ्ग बहादुर राणासँग मित्रता स्थापना गरेर उहाँलाई उद्धारमा डोर्‍याउनुभयो । राणाले केही वर्षपछि सन्‌ १९५२ मा बप्तिस्मा पाउनुभयो, र नेपालमा सुसमाचार प्रचारको लागि साधन बन्नुभयो । सन् १९५१ मा अन्ततः नेपालको सिमाना खुल्यो र ओलिभर १६ वर्ष पर्खाईपछि  काठमाडौँ जान अनुमति पाउनुभयो ।

सन् १९५४ मा ओलिभरले केही अन्य मिसनरी संस्थाहरूसँग मिलेर युनाइटेड मिशन टु नेपाल (UMN) स्थापना गर्नुभयो । आफ्नी पत्नी मार्गरेटसँगै उहाँले नेपालीहरूका बीचमा सुसमाचार प्रचार गर्ने र मण्डलीहरू स्थापना गर्ने काम गर्नुभयो । उहाँले नेपाली मण्डलीलाई पश्चिमीकरण गर्न नचाहेर बरु नेपालको संस्कृति र सन्दर्भ अनुरूप मण्डलीहरूको विकास गर्ने प्रयास गर्नुभयो । त्यहाँ अस्पताल तथा कुष्ठरोग अस्पताल र अनाथालयहरू स्थापना गर्नमा पनि उहाँको भूमिका थियो  ।
सन्‌ १९६१ मा ओलिभर लन्डन फर्कनुभयो, र आर.बि.एम.युको लागि कार्यकारी सचिवको रूपमा काम गर्नुभयो  । आफ्नो बुढेसकालले उहाँलाई कमजोर तुल्याए पनि ओलिभर अन्तसम्म धेरै मिसनहरू र मिसनरी संस्थाहरूको प्रशासकको सक्रिय सक्षम कर्ताको रूपमा काम गरी नै रहनुभयो  । उहाँको प्रभावले धेरै मिसनहरूको काम सक्षम हुन पायो  । सन्‌ २००१ सेप्टेम्बर ९ मा उहाँ आफ्नो विश्राममा प्रवेश गर्नुभयो ।

हाम्रो  उद्धारको लागि कैयौँ मानिसहरूले आफ्नो परिवार, भविष्य र देश त्यागेर परदेशी बनेको  हुँदा हामी आफ्नै मानिसहरूको उद्धारलाई बेवास्ता गरी आफ्ना धन, मन र समयलाई मनोरञ्जनमा खेर फाल्नु न्यायसङ्गत हुन सक्छ होला त !

“तब मैले परमप्रभुको यो आवाज सुनें, ‘म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?’ ” यशैया ६:८

Leave a Reply

Your email address will not be published. Required fields are marked *