निकोलस लुडविग जिन्जेन्डोर्फ

जन्मसन् १७००-०५-२३
जन्म स्थानजर्मनी
दर्शन स्थलविश्व
निधनसन्‌ १७६०-०५-०९

निकोलस लुडविग जिन्जेन्डोर्फ एक बिशप र ईश्वरशास्त्री हुनुहुन्थ्यो, जसले मोराभि प्रार्थना जागृति आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ सन्‌ १७०० मे २६ मा ड्रेसडेन, सक्सोनीमा (जर्मनी) बलियो इसाई पृष्ठभूमि भएको एक घरानियाँ परिवारमा जन्मनुभएको थियो । उहाँकी आमाले उहाँमा येशू ख्रीष्टप्रति एउटा गहिरो प्रेम जगाइ दिनुभयो, जुन उहाँको जीवनभरि नै उहाँमा रहिरह्यो ।
 
जवान हुँदा जिन्जेन्डोर्फले एक पल्ट पवित्र आत्माको छुवाइको अनुभव गर्नुभयो, र आफू दोषी भएको अनुभव गर्दै उहाँ भन्नुभयो,  “मैले उहाँलाई लामो समयदेखि प्रेम गरेको छु, तर मैले वास्तवमा उहाँको लागि कहिल्यै केही गरेको छैनँ । अबदेखि उहाँले मलाई जे गर्न को लागी डोर्‍याउनुहुन्छ सो म गर्नेछु ।” येशू ख्रीष्ट एउटा भय मान्नु पर्ने टाढाको व्यक्ति होइन, तर आफूलाई गहिरो प्रेम गर्ने व्यक्तिगत मित्र र मुक्तिदाता हुनुहुन्छ भनी उहाँले विश्वास गर्नुहुन्थ्यो । यो विश्वासले नै उहाँको जीवन र सेवकाईलाई डोर्‍यायो, र उहाँ येशूसँगको व्यक्तिगत सम्बन्धको महत्त्वमा जोड दिनको लागि चिनिनुभयो ।
 
सन्‌ १७२२ मा उहाँले सतावटमा परेर देश छोडेका मोराभियनहरूको समूहलाई सक्सोनीमा आफ्नो पारिवारिक सम्पत्तिमा बसोबास गर्न स्वागत गर्नुभयो, जहाँ तिनीहरू स्वेच्छाले सादगी जीवन बिताउन थाले । यद्यपि यस समुदायले चाँडै स्थानीय अधिकारीहरूबाट सतावटको सामना गर्‍यो, जसले तिनीहरूलाई सामाजिक व्यवस्थाको लागि खतराको रूपमा देखे । जिन्जेन्डोर्फ आफ्नो समुदायसँग त्यहाँबाट निस्किन बाध्य हुनुभयो, र तिनीहरू अन्ततः हेर्न्हट आएर बसोबास गर्न थाले, जहाँ तिनीहरूले आफ्नो साझा विश्वास र प्रार्थनाको प्रतिबद्धतामा आधारित नयाँ समुदाय स्थापना गरे ।
 
जिन्जेन्डोर्फको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये एकचाहिँ प्रार्थना जागृति सुरु गर्नु थियो, जुन १०० वर्षसम्म चलेको थियो । सन्‌ १७२७ अगस्ट १३ मा मोराभियनहरू बिच पश्चात्ताप र मेलमिलापको समयपछि उनीहरूले एक प्रभु-भोजको सेवाको क्रममा पवित्र आत्माको शक्तिशाली अभिषेकको अनुभव गरे । तिनीहरूले प्रेम, आनन्द र एकताको आत्माको अनुभव विशाल रूपमा गरे । तिनीहरूले चौबीसै घण्टा प्रार्थना सभा सुरु गर्ने निर्णय गरे, जसमा पुरुष, महिला र केटाकेटीहरू एक-एक घण्टा पालैपालो लिँदै प्रार्थना गर्न सुरु गरे । यो प्रार्थना सभा सन्‌ १८२७ सम्म एक शताब्दी भन्दा बढी समयसम्म निर्बाध रूपमा जारी रह्यो ।
 
प्रार्थना जागृतिले जिन्जेन्डोर्फ र मोराभियनहरूलाई अपूर्व मिसनरी आन्दोलन सुरु गर्न प्रेरित गर्‍यो । २५ वर्ष भित्र तिनीहरूले ग्रीनल्याण्ड, उत्तरी अमेरिका, दक्षिण अफ्रिका, भारत, चीन, र रुस जस्ता विश्वका विभिन्न भागहरूमा १०० भन्दा बढी मिसनरीहरू पठाए । तिनीहरूले विभिन्न संस्कृति र भाषाका मानिसहरूलाई जोस र प्रेमका साथ सुसमाचार प्रचार गरे । उनीहरूले जहाँ गए पनि विद्यालय, अस्पताल, अनाथालय र छापाखानाहरू स्थापना गरे । मोराभियनहरूको जागृति र सेवा देखेर धेरै अन्य समुदायका इसाईहरू प्रभावित भए, जस्तै जोन वेस्ली, जर्ज ह्वाइटफिल्ड, विलियम केरी र डेभिड लिभिङस्टोन । आजको दिनसम्म पनि मोराभियनहरूको जीवन र सेवाले धेरैलाई प्रभाव पारिरहेको छ ।
 
जिन्जेन्डोर्फ  एक दूरदर्शी अगुवा हुनुहुन्थ्यो, जसले मोराभियन मण्डलीलाई एक गतिशील मिसनरी आन्दोलनमा आकार दिनुभयो । उहाँ एक प्रख्यात लेखक पनि हुनुहुन्थ्यो जसले भजन, उपदेश, प्रार्थना, पत्रहरू र धर्मशास्त्रीय ग्रन्थहरू रचना गर्नुभयो । उहाँ एक विश्वव्यापी अग्रगामी हुनुहुन्थ्यो जसले विभिन्न सम्प्रदायहरू बिच इसाई एकतालाई बढाउन प्रयत्न गर्नुभयो । उहाँ सामाजिक न्यायका लागि वकालत गर्नुमा पनि अगाडि हुनुहुन्थ्यो,  जसले मूल निवासी अमेरिकीहरू, अफ्रिकी दासहरू र यहूदीहरू जस्ता उत्पीडित मानिसहरूको अधिकारको रक्षा गर्नुभयो ।
 
सन्‌‌ १७६० मे ९ मा लामो समयको अस्वस्थपनपछि जिन्जेन्डोर्फको मृत्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *