मेरी मिचेल स्लेसर

जन्म: सन्‌ १८४८-०२-१२
जन्म स्थान: स्कटल्यान्ड
दर्शन स्थल: नाइजेरिया
निधन: नाइजेरिया

मेरी मिचेल स्लेसर स्कटल्यान्डमा एउटा गरिब जुत्ता बनाउने परिवारमा जन्मिनुभएको थियो, र कठिन परिस्थितिमा हुर्किनुभएको थियो । मेरीकी आमा एक दृढ धार्मिक व्यक्ति हुनुहुन्थ्यो, जसले मेरीलाई मण्डलीमा उपस्थित गराउनुमा विशेष ध्यान दिनुहुन्थ्यो । एघार वर्षको उमेरमा मेरीले आफ्नो परिवार र अध्ययनलाई सहयोग गर्न मिलमा अंशकालिन काम गर्न थाल्नुभयो । उहाँ परमेश्वरको डरमा हुर्किनुभएको थियो, र सानै उमेरमा मिसनरी कामको लागि योग्य देखिनुहुन्थ्यो । उहाँ डन्डीमा स्थानीय मिसनमा सामेल हुनुभयो,  र गरिबहरूको बिच इसाई विश्वासलाई जगाउन तिनीहरूको माझमा काम गर्नुभयो ।

उहाँ अफ्रिकामा डेभिड लिभिङस्टनको अग्रगामी सेवाबाट विशेष रूपमा प्रेरित हुनुहुन्थ्यो । जब मेरीले लिभिङस्टनको मृत्युको बारेमा सुन्नुभयो, उहाँले अफ्रिकामा लिभिङस्टनको पाइला पछ्याउने निर्णय गर्नुभयो । युनाइटेड प्रेस्बिटेरियन चर्च अफ स्कटल्यान्डमा आफूलाई मिसनरीको रूपमा स्वीकार गर्न आवेदन दिँदा मेरी २८ वर्षको हुनुहुन्थ्यो । एडिनबर्गमा आफ्नो प्रशिक्षण पूरा गरेपछि मेरीले सन्‌ १८७६  मा नाइजेरिया जान जहाज चढ्नुभयो । नाइजेरियाको कालाबार पुगेपछि दास व्यापार, मानव बेचबिखन, र सामाजिक दुष्टताको कारण राज्य अराजकतामा रहेको मेरीले देख्नुभयो ।

मेरीको दृढ सङ्कल्पले तिनको सम्पर्कमा आएका नाइजेरियालीहरूको सम्मान लगातार जित्यो । उहाँ स्थानीय भाषा एफिकमा पोख्त हुनुभयो र स्थानीय चलन र संस्कृतिको गहिरो ज्ञान विकास गर्नुभयो । उहाँले सुसमाचार प्रचार गर्न थाल्दा धेरै मूल निवासीहरूलाई ख्रीष्टमा डोर्‍याउने मौका पाउनुभयो । उहाँको दृढ सङ्कल्प यति बलियो थियो कि कहिलेकाहीँ उहाँ रातभर घना जङ्गल हुँदै  पैदल यात्रा गरेर अन्य गाउँहरू पुग्ने गर्नुहुन्थ्यो । सन्‌ १८८८ मा उहाँले धेरै मिसनरीहरू मारिएको ओकोयोङ क्षेत्र तिर यात्रा गर्नुभयो,  र सफलतापूर्वक एक मिसन स्थल स्थापना गरेर सुसमाचारको काम गर्नुभयो ।

सुसमाचारको काम बाहेक मेरीले बोक्सी विद्या र मूल निवासीहरूको गैर कानुनी चलनहरू विरुद्ध कडा सङ्घर्ष गर्नुभयो । मेरीको लडन्तहरू मध्य गम्भीर लडन्तचाहिँ सबैभन्दा पीडादायी चलनको रूपमा रहेको जुम्ल्याहा बच्चाहरूको शिशु हत्या गर्ने अभ्यासको विरुद्ध थियो । ओकोयोङहरूले जुम्ल्याहा बच्चाहरूलाई श्रापित भनी विश्वास गर्थे र ती बच्चाहरूलाई देवताहरूलाई बलिको रूपमा चढाउँथे । मेरीले उनीहरूसँग बिन्ती गरेर प्रायः जुम्ल्याहाहरूलाई आफ्नो घरमा लगेर हुर्काउनुहुन्थ्यो । उहाँले विद्यालय र मण्डलीहरू निर्माण गर्नुभयो र धेरै युवाहरूलाई आफ्नो यो काम जारी राख्न प्रशिक्षण दिनुभयो । उहाँको सेवकाईको अवधिभर नै पटक-पटक मलेरिया ज्वरोले थला पर्नुभयो, तर परमप्रभुको सेवाको खातिर आफ्नो दुःखलाई बेवास्ता गर्नुभयो ।  सन्‌ १९१५ को सुरुमा उहाँ मलेरियाको अर्को एउटा आक्रमणबाट पीडित हुनुभयो, र अन्तमा जसको लागि जिउनु भयो र सेवा गर्नुभयो उनै आफ्नो प्रभुसँग रहन जानुभयो ।

उहाँको जीवन र अविवाहित रहेर ४० वर्षसम्म उहाँले गरेको सेवालाई कदर गर्दै सन्‌ १९९७ मा  एक पट्टि उहाँको तस्बिर र अर्को पट्टि उहाँले काम गरेको ठाउँको नक्सा राखेर  स्कटिश  १० पाउन्ड नोट निकालिएको थियो । उहाँलाई “ओकोयोङहरूको सेतो रानी” भनी चिनिन्छ ।

परमप्रभु राज्यहरू माग्नेहरूको खोजीमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *