चाको के. अथियाली
जन्म | : सन् १९२०-०३-१५ |
जन्म स्थान | : केरला, भारत |
दर्शन स्थल | : नेपाल र भारत |
निधन | सन् २०११-०४-१८ |
सन् १९१९ मा भारतको केरला प्रान्तमा रहेको मारामनमा मर थोमा सिरियन मण्डलीहरूले आयोजना गरेको सम्मेलनमा साधु सुन्दर सिंहले तिब्बतमा मिसनरी कामका आफ्ना अनुभवहरू बाँडिरहनुभएको थियो, र नेपालमा मिसनरीहरूको आवश्यकतालाई विशेष रूपमा उल्लेख गर्नुभयो । भारतीयहरूलाई परमेश्वरको काममा समर्पित हुनको लागि उहाँले गरेको हार्दिक आह्वानले धेरैको हृदय छोयो । त्यस बेला गर्भवती भएकी अन्नम्माले उनको हृदयमा आफ्नो बच्चालाई परमप्रभुको काममा समर्पण गर्ने निर्णय गरिन् । सन् १९२० को मार्चमा तिनले एउटा छोरो जन्माइन् जसको नाम चाको के. अथियाली राखियो ।
सी.के. अथियाली आफ्नो युवावस्थामा अङ्ग्रेजहरू विरुद्धको स्वतन्त्रता आन्दोलनमा सामेल हुनुभयो । तर जब उहाँ विशेष सभाहरूमा भाग लिन तिरुवल्लुर जानुभयो, त्यहाँ उहाँको जीवनमा एक आत्मिक परिवर्तन भयो । उहाँले आफ्नो जीवन परमप्रभुको सेवाको लागि समर्पण गर्नुभयो, र प्रशिक्षण लिनुभयो । उहाँले चाँडै त्रावणकोर जिल्लामा गहन सुसमाचारिय काम सुरु गर्नुभयो । तर पनि आफ्नो नेपाल जाने दर्शनलाई मनमा तृष्णासाथ राखिराख्नुभयो ।
सन् १९४६ मा जब भारत दङ्गामा डुबेको थियो, सी.के. अथियाली इलाहाबादतिर यात्रा गर्नुभयो र यात्राको क्रममा मृत्युको मुखमै पुग्नुभयो । परमेश्वरको सुरक्षामा इलाहाबाद पुगेर विद्यार्थीहरूका बीचमा सुसमाचार प्रचार गर्नुभयो । त्यसपछि उहाँ सन् १९४८ मा फ्री मेथोडिस्ट मण्डलीद्वारा स्थापित युनियन बिब्लिकल सेमिनरीमा तालिम लिन यवतमाल जानुभयो, जहाँ उहाँले अन्ततः नेपालका लागि ढोका खोलेको पाउनुभयो । सन् १९५० को गर्मी बिदामा उहाँ र उहाँको साथी जार्ज जोन, जो पनि नेपाल सेवामा इच्छा व्यक्त गर्नुभयो, दुवै नेपाल आइपुग्नुभयो । उहाँहरूसँग आर्थिक सहयोग र बस्ने ठाउँ थिएन । यद्यपि उहाँहरू इस्टरको दिन काठमाडौँको सडकमा प्रचार गर्दै बिताउनुभयो ।
भारतको छोटो भ्रमणपछि उहाँ अरू केही साथीहरूसँग सन् १९५२ मा फेरि नेपाल आउनुभयो । यस पटक उहाँले नरराज शमशेर जङ्गबहादुर राणा नामका एक इसाई भेट्टाउनुभयो, जो भर्खरै रक्सौलमा रहेको डंकन अस्पतालका चिकित्सकहरूमार्फत उद्धार पाएका थिए । सन् १९५३ अप्रिल दोस्रो हप्तामा सी.के. अथियाली, जार्ज जोन, सी.जी. जार्ज र चेरियन कुरियन मिलेर नरराज राणाको घरमा सङ्गति सुरु गर्नुभयो, जसको नाम “ख्रीष्ट शान्त सङ्घ” भनी राखियो । उहाँको इमानदार प्रयासले धेरै नेपालीहरूले उद्धार पाए ।
सन् १९६१ मा केरला फर्कनुभएको उहाँ सन् १९८६ मा अवकाश भएपछि पनि सेवा नगरी घर बस्न अस्वीकार गर्नुभयो । छत्तीसगढमा सतनामी जनजातिको बीचमा गम्भीर शत्रुताको बीचमा काम गर्न थाल्नुभयो; आफ्नो बुढेसकालमा पनि सुसमाचार प्रचार गर्न पर्चाले भरिएको झोला बोकेर हिँड्नुहुन्थ्यो । सन् २०११ अप्रिल १८ मा ९१ वर्षको उमेरमा उहाँ प्रभुमा सुत्नुभयो ।
उहाँले सुरु गरेको त्यो सङ्गति आज वृद्धि भएर बेथशालोम मण्डली (पुतलीसडक मण्डली) भन्ने नाममा सञ्चालित छ, र यही नै नेपालकै दोस्रो मण्डली पनि हो ।
“साना कुराहरूको दिनलाई कसले तुच्छ ठान्छ?” जकरिया ४:१०
तपाईँले आफ्नो छोराछोरीहरूलाई केको लागि र कसको लागि अर्पण गर्नुभएको छ ?