एन्ड्र्यु मरे र दक्षिण अफ्रिकाको जागृति

जन्म:
एन्ड्र्यु मरे मे ९, १८२८ मा दक्षिण अफ्रिकाको ग्राफ रेनिटको डच सुधारित पादरी निवासमा जन्मिएका थिए। त्यहाँ उनका पिता, पादरी एन्ड्र्यु मरे सिनियर डच आप्रवासीहरूको बिचमा सेवा गरिरहेका थिए। मरेको घर आनन्द, प्रार्थना, र उपासनाले भरिएको जीवन्त स्थान थियो। हरेक शुक्रवार साँझ एन्ड्र्यु मरेका बुबा आफ्ना परिवारलाई एकत्रित गरी अतीतका जागृतिका प्रेरणादायी घटनाहरू पढेर सुनाउनुहुन्थ्यो। त्यसपछि उहाँ आफ्नो अध्ययन कक्षमा गएर दक्षिण अफ्रिकामा जागृति आउन प्रार्थनामा लाग्नुहुन्थ्यो। यो १८२२ देखि चल्दै आएको उहाँको साप्ताहिक बानी थियो। युवा मरेले अरू उत्कृष्ट इसाई उत्साह र भक्तिका उदाहरणहरू पनि पाए। डेविड लिभिङस्टोन र रोबर्ट मफेटजस्ता व्यक्तिहरू बारम्बार समुद्री तटतर्फ यात्रा गर्दा उनको घर हुँदै जान्थे।
विलियम सी. बर्न्स:
सन् १८३८ मा, एन्ड्र्यु १० वर्षको उमेरमा आफ्ना दाजु जोनसँग स्कटल्यान्ड अध्ययन गर्न गए। उनीहरू आफ्नो काका, पास्टर जोन मरेसँग बसे। सन् १८४० को वसन्त ऋतुमा, काकाले उनीहरूलाई विलियम सी. बर्न्सको जागृति सेवासँग परिचय गराए। यो प्रसिद्ध स्कटिश जागृति प्रचारकले युवा एन्ड्र्यु मरेमा गहिरो प्रभाव छोडे। बाह्र वर्षीय मरे उत्साहित थिए जब श्रीमान् बर्न्सले उनलाई बाइबल र आफ्नो लबेदा बोक्न आग्रह गरे र उनीहरू एबर्डिनमा जागृति सभामा सँगै हिँडे। धेरै वर्षपछि पनि, मरे बर्न्सको भक्तिपूर्ण प्रभावलाई जीवित रूपमा सम्झन सक्थे। उनको इमानदारी, जोशपूर्ण प्रार्थना, र प्रभावशाली प्रचारले एन्ड्र्यु मरेलाई आफ्नो व्यक्तिगत सेवा र बोलावट परिभाषित गर्न मद्दत गर्यो। एउटा पुस्ताको आत्माले भरिएको सेवा अक्सर अर्को पुस्ताको कटनीको बीउलाई पानी हाल्छ ।
पास्टर ब्लुमहार्ड:
सन् १८४४ मा मारिशल कलेजबाट स्नातक गरेपछि, दुई दाजुभाइ थप ईश्वरशास्त्र र डच भाषा अध्ययनको लागि नेदरल्याण्ड्सको युट्रेच्ट गए। त्यस समयमा नेदरल्याण्ड्समा धार्मिक जीवन अत्यन्त कमजोर अवस्थामा थियो, र तर्कशास्त्रले धेरै मण्डलीका मञ्च र धर्मशास्त्रीय विद्यालयहरूलाई कमजोर बनाइसकेको थियो। अक्सफोर्डको वेस्ली भाइहरू र “होली क्लब” जस्तै, जोन र एन्ड्र्यु “सेखोर दबार” (जसको अर्थ “वचनलाई सम्झनुहोस्”) नामक उत्साही समूहमा सामेल भए। त्यहाँ उनीहरूले समान विचारधारा भएका भाइहरू, न्यानो सङ्गति, र साँचो मिसनरी उत्साह पाए। छुट्टीको समयमा दुई भाइ जर्मनी भ्रमणमा गए, जहाँ उनीहरूलाई पास्टर ब्लुमहार्टसँग भेट्ने अवसर पाए। यो असाधारण व्यक्ति जर्मनीको रेनिश प्रान्तमा जागृति ल्याउन प्रयोग भएका थिए। यो जागृति असाधारण छुटकारा घटनाहरू र प्रार्थनामार्फत बिरामी निको पार्ने घटनाहरूले भरिएको थियो। एन्ड्र्यु आफ्नै समयमा परमेश्वरको शक्तिको निरन्तर कार्यलाई प्रत्यक्ष रूपमा देख्न पाए।
बालक प्रचारक:
दुई भाइहरूलाई द हेगमा एन्ड्र्युको बिसौँ जन्मदिनको दिन अभिषेक गरियो, र त्यसपछि उनीहरू दक्षिण अफ्रिकामा आफ्नो सेवा कार्य आरम्भ गर्न गए। जब पहिलो पटक एन्ड्र्यु अफ्रिकामा फर्किए, उनी अझै बालकझैँ देखिन्थे। बीस वर्षको उमेर भए तापनि उनी आफ्ना उमेरभन्दा धेरै साना देखिन्थे। एक जना वृद्ध डच किसानले एक पटक भनेका थिए, “हामीलाई उपदेश दिन किन केटीलाई पठाएका छन्?” तैपनि, मरेको कमजोर देखिने स्वरूपका बाबजुद पनि, उनको सहनशीलता र जोशको कुनै सीमा थिएन। उनी प्रायः घोडामा हप्तौँ लामो यात्रा गर्दै बुअरहरू (डच भाषा बोल्ने दक्षिण अफ्रिकी किसानहरू) लाई प्रचार गर्न जान्थे। यी आत्मिक रूपमा भोकाएका किसानहरू सयौँ माइल यात्रा गरी “बालक प्रचारक” को प्रवचन सुन्न आउँथे। अस्थायी रूपमा निगालोले मण्डली भवन निर्माण गरिन्थ्यो र त्यसलाई सयौँ ठुला डच फार्म गाडीहरूले घेरिन्थ्यो। यस्तै सेवाका क्रममा, युवा श्रीमान् मरेले प्रार्थना र गहिरो-आत्मिक जीवनसम्बन्धी आफ्नो प्रसिद्ध लेखनहरूमा देखिने आगो र जोश अभिव्यक्त गर्न थाले।
जागृतिको तयारी:
सन् १८६० मा एन्ड्र्यु मरे दक्षिण अफ्रिकाको वुर्सेस्टरको मण्डलीमा पास्टरको रूपमा सेवा गर्न गएका थिए। उनको नियुक्ति त्यहाँको जागृति र मिशन सम्मेलनसँग संयोग परेको थियो, जहाँ ३७४ दक्षिण अफ्रिकी पास्टरहरू भेला भएका थिए। यो सम्मेलन विशेष रूपमा आत्मिक जागृतिलाई प्रोत्साहन गर्न र डच सुधारित मण्डलीहरूका लागि नयाँ कामदार र मिसनरीहरू भर्ना गर्न आयोजना गरिएको थियो। सम्मेलनको सुरुवातमा एउटा कागज वितरण गरियो, जसले अमेरिकामा र बेलायतमा भएका ताजा जागृतिका घटनाहरूलाई वर्णन गर्थ्यो। सहभागी पास्टरहरूलाई दक्षिण अफ्रिकामा पनि यस्तै परमेश्वरको चाल देख्नको लागि उत्सुक भएर प्रार्थना गर्न प्रेरित गरियो। डा. रोबर्टसनले जागृतिको ठुलो आवश्यकताबारे बोले, त्यसपछि डा. एडमसनले अमेरिकामा हालै भएको जागृतिको विस्तृत विवरण दिए। एन्ड्रयू मरे सिनियरले सभालाई सम्बोधन गर्ने प्रयास गरे, तर भावुकता र आँसुले अभिभूत भएर सकेनन्। समग्रमा, सम्मेलन ठुलो सफलता थियो, सहभागी पादरीहरूमा नयाँ आशा र प्रार्थनालाई प्रोत्साहन दियो।
सम्मेलनको केही समयपछि, आइतबार साँझ मण्डलीमा युवाहरूको एउटा सभा आयोजना गरियो। यो सभामा अप्रत्याशित रूपमा जागृतिको आत्मा प्रकट भयो। सभा अपेक्षा अनुसार अगाडि बढिरहेको थियो, जबसम्म एउटी साधारण १५ वर्षीय काली केटी प्रार्थना गर्न उभिइन। श्रीमान् मरेका सहायक, जे. सी. डिभ्रिजले प्रार्थना सभाको नेतृत्व गरिरहेका थिए र यी असाधारण घटनाहरूको प्रत्यक्षदर्शी विवरण दिन्छन्। “एक निश्चित आइतबार साँझ एउटा सानो हलमा करिब साठी जना युवाहरू जम्मा भएका थिए। मैले सभाको नेतृत्व गरिरहेको थिएँ, जुन भजन र परमेश्वरको वचनको पाठबाट शुरू भएको थियो, त्यसपछि मैले प्रार्थना गरेँ । तीन-चार जनाले भजनको एक चरण गाए र प्रार्थना गरे, जुन परम्परा अनुसार थियो। त्यसपछि नजिकैको किसानको सेवामा रहेकी करिब पन्ध्र वर्षकी एउटी काली केटी हलको पछाडि उभिएर आफूले पनि भजन प्रस्ताव गर्न सक्छु कि भनी सोधिन्। सुरुमा म हिचकिचाएँ, सभाले के सोच्ला भनेर थाहा थिएन, तर राम्रो विचारले जित्यो, र मैले ‘मिल्छ’ भनेँ। उनले आफ्नो भजनको चरण गाइन् र मार्मिक स्वरमा प्रार्थना गरिन्। उनी प्रार्थना गरिरहँदा, हामीले टाढाबाट आएको जस्तो एउटा आवाज सुन्यौँ, जुन हल नै हल्लिएको जस्तो लाग्ने बेला सम्म नजिकिँदै आयो; एक-दुई जनाबाहेक, सम्पूर्ण सभाले प्रार्थना गर्न थाल्यो, धेरैजसो ठुला स्वरमा, तर केही खुसखुसाए। यद्यपि, भीडको आवाज असह्य थियो। मलाई एउटा वर्णन गर्न नसकिने भावनाले समात्यो…”
जागृतिबाट विचलित :
यो बैठक चलिरहेको बेला, एन्ड्रयू मरे मण्डलीको अर्को भागमा प्रचार गरिरहेका थिए। यी घटनाहरूको सुरुवातमा उनी उपस्थित थिएनन्। जब उनको आफ्नै सेवा समाप्त भयो, एक एल्डर प्रार्थना सभाको ढोका काटेर जाँदा, कोलाहल सुने र भित्र चियाए, र त्यसपछि श्रीमान् मरेलाई लिन दौडे। जे. सी. डेभ्रीजले युवाहरूको सभामा मरेको अचम्मलाग्दो प्रतिक्रियालाई जीवित रूपमा सम्झन्छन्, “श्रीमान् मरे टेबलनिर अगाडि आए, जहाँ म घुँडा टेकेर प्रार्थना गरिरहेको थिएँ, मलाई छोए, र मलाई बुझाए कि उहाँ मलाई उठाउन चाहनुहुन्छ। त्यसपछि उहाँले मलाई के भयो भनेर सोध्नुभयो। मैले उहाँलाई सबै कुरा बताएँ। त्यसपछि उहाँ कोठाको बिचमा गएर सकेसम्मको ठुलो स्वरमा बोलाउनुभयो, ‘मानिसहरू, चुप लाग्नुहोस्!’ तर प्रार्थना जारी रह्यो। यसैबिच, म फेरि घुँडा टेकेँ। मलाई लाग्यो कि यदि प्रभु हामीलाई आशीर्वाद दिन आउँदै हुनुहुन्छ भने, म मेरो खुट्टामा होइन तर मेरो घुँडामा हुनुपर्छ। श्रीमान् मरेले फेरि ठुलो स्वरमा बोलाए, ‘मानिसहरू, म तपाईंको सेवक हुँ, परमेश्वरबाट पठाइएको! चुप लाग्नुहोस्!’ तर आवाज रोकिएन। कसैले पनि उनको कुरा सुनेनन्, तर सबैले प्रार्थना गर्दै परमेश्वरलाई दया र क्षमाको लागि पुकारिरहे। त्यसपछि श्रीमान् मरे मकहाँ फर्किए र मलाई ‘असहाय रोइरहेको आत्मालाई मद्दत गर्नुहोस्’ भन्नेबाट सुरु हुने भजन सुरु गर्न भन्नुभयो। मैले त्यसो गरेँ, तर भावनाहरू शान्त भएनन् र बैठक प्रार्थनामै चल्यो। त्यसपछि श्रीमान् मरेले ‘परमेश्वर व्यवस्थाका परमेश्वर हुनुहुन्छ, र यहाँ सबै कुरा गोलमाल छ!’ भन्दै जान तयार हुनुभयो। त्यत्ति भन्दै उहाँ हलबाट निस्कनुभयो।”
जागृति प्रार्थना र शक्ति :
त्यसपछि हरेक साँझ प्रार्थना सभाहरू स्वतःस्फूर्त रूपमा आयोजना गरिन्थ्यो। यी सभाहरूको क्रम सामान्यतया प्रत्येक पटक उस्तै हुन्थ्यो, यद्यपि कसैले पनि यसलाई तयार गरेनन्। सुरुमा सामान्यतया ठुलो मौनता हुन्थ्यो; भावनाहरू जगाउने कुनै प्रयास गरिएन, तर दोस्रो वा तेस्रो प्रार्थना पछि सभा अचानक प्रार्थनामा एकैसाथ पुकार्न थाल्थ्यो। यो निश्चित रूपमा त्यति बेला डच सुधारिएका मण्डलीहरूको चलन थिएन, न त कसैले तिनीहरूलाई यो गर्न सिकाएको थिए। कहिलेकाहीँ सभा बिहान तीन बजेसम्म जारी रहन्थ्यो; त्यस बेला पनि, धेरैले लामो समयसम्म बस्न चाहन्थे। मानिसहरू मध्यरातमा आफ्नो घर फर्कँदा तिनीहरू सडकहरूमा खुसीसाथ गाउँदै गए। प्रार्थना सभा चाँडै बढ्यो र नजिकैको स्कुल भवनमा सार्नु पर्यो। अन्ततः, यो सुविधा पनि ईश्वरप्रति भोकाएको खोजी गर्नेहरूको भीडको लागि धेरै सानो साबित भयो। “ती ठाउँहरूमा, जहाँ एक वर्ष पहिले प्रार्थना सभाहरू अज्ञात थिए, अब मानिसहरूले गुनासो गरे किनभने सभाहरू एक घण्टा चाँडै समाप्त भए! साप्ताहिक मात्र होइन तर मानिसहरूले दैनिक प्रार्थना सभाहरूको माग गर्थे, दिनमा तीन पटक पनि – र बच्चाहरूको बिचमा यी स्थिति देखिन्थ्यो।” जागृतिले सम्पूर्ण ग्रामीण इलाकालाई हल्लायो। युवा र वृद्ध, धनी र गरिब, काला र गोरा सबै जागृतिबाट समान रूपमा प्रभावित भए। “यो एकदमै अचम्मको कुरा थियो कि जागृति सहर र गाउँहरूमा मात्र सीमित थिएन, तर बाहिरी सम्पर्क बिना पूर्ण रूपमा एकान्त रहेको ठाउँहरूमा पनि महसुस गरिएको थियो, टाढाका फार्महरूमा पनि, जहाँ पुरुष र महिलाहरू अचानक ती भावनाहरूले भरिएका थिए, जुनसँग तिनीहरू केही हप्ता वा दिन अघिसम्म पनि पूर्ण रूपमा अपरिचित थिए।” मानिसहरूलाई बारम्बार तीव्र दोषको भावनाले समातिएको थियो। बलिया मानिसहरू पीडामा कराए, जबकि अरूहरू बेहोस भएर भुईँमा लडे र तिनीहरूलाई सभाहरूबाट बोकेर लानु पर्थ्यो।
जागृतिको बारेमा सिक्दै:
जे. सी. डेभ्रीजले एन्ड्रयू मरेको लागि यी अभिव्यक्तिहरूलाई परमेश्वरको काम भनेर स्विकार्नमा भएको सङ्घर्षको थप विवरण दिन्छन्। जे. सी. डेभ्रीज लेख्छन्, “पहिलो शनिवार साँझ ठुलो सभागृहमा श्रीमान् मरे सभाको अगुवा थिए। उनले बाइबलको एउटा भाग पढे, त्यसमा केही टिप्पणी गरे, प्रार्थना गरे, र अरूलाई प्रार्थना गर्ने अवसर दिए। उनको प्रार्थना पछि, हामीले फेरि टाढाबाट आउने उही आवाज सुनेका थियौँ। त्यो आवाज नजिकिँदै आयो, अनि अचानक पूरा सभा प्रार्थनामा व्यस्त भयो।”
त्यो साँझ एक जना अपरिचित व्यक्ति बैठकको सुरुवातदेखि नै ढोकामा उभिएर यी घटनाहरू हेरिरहेका थिए। श्रीमान् मरे मञ्चबाट ओर्लिएर फेरि मानिसहरूबिच गई हुललाई शान्त पार्ने प्रयास गर्न थाले। त्यसै बेला, ढोकामा उभिएको अपरिचित व्यक्ति अगाडि सरेर हलुका रूपमा श्रीमान् मरेलाई छोए र अङ्ग्रेजीमा भने, “मलाई लाग्छ, तपाईं नै यस मण्डलीका पादरी हुनुहुन्छ। जे गर्दै हुनुहुन्छ, सावधान हुनुहोस्, किनभने यहाँ परमेश्वरको आत्मा कार्य गरिरहनुभएको छ। म भर्खरै अमेरिका बाट आएको छु, र त्यहाँ मैले ठ्याक्कै यही देखेको थिएँ।”
एन्ड्र्यु मरे तीव्र भावनात्मक प्रार्थनाका अभिव्यक्तिहरूबाट विचलित भएका थिए, र ती सभाहरूलाई नियन्त्रण गर्न खोजे, तर असफल भए। तर, यो घटनापछि, उनले पवित्र आत्माको कार्यलाई बाधा पार्न छोडे। अन्ततः, उनले यी अकस्मात् प्रार्थनाका विस्फोट र गहिरा भावनाहरूलाई परमेश्वरको कार्यको रूपमा स्वीकारे। उनका पिता एन्ड्र्यु मरे सिनियरले पनि यस जागृतिलाई वास्तविक भनेर प्रमाणित गर्दै भने, “म परमेश्वरलाई धन्यवाद दिन्छु, कि म उहाँको आत्माको यस्तो कार्य देख्न बाँचेँ।”
श्रीमान् मरेको प्रतिक्रिया मुख्यतः जागृतिका यी अभिव्यक्तिहरू आफ्नै व्यक्तिगत अनुभव र धार्मिक अनुशासनको दायराभन्दा बाहिर रहेको महसुसबाट आएको थियो। उनले जागृतिका लागि गहिरो प्रार्थना गरेका थिए, अध्ययन गरेका थिए, र सानो रूपमा यसको अनुभव पनि गरेका थिए, तर जब आफ्नै मण्डलीमा एउटा अलौकिक जागृति प्रकट भयो, उनले आफ्नै प्रतिक्रियाको बारेमा पूर्वानुमान गर्न असफल भए।
जागृति र टुटेका अपेक्षाहरू :
यस्तो देखिन्छ कि श्रीमान् मरेका व्यक्तिगत अपेक्षाहरू र पवित्र आत्माको कार्य गर्ने तरिका पूर्ण रूपमा फरक थिए। जब हाम्रा पूर्वानुमानहरू पूरा हुँदैनन्, त्यो निराशा, भ्रम, वा आलोचनाको कारण बन्न सक्छ। जब यरूशलेमका मानिसहरू पिन्तेकोस्टको चमत्कार देख्न भिडभाडमा आए, प्रेरित २:६ मा लेखिएको छ कि ती दर्शकहरू “आश्चर्यचकित” भए। उनीहरूको भ्रमले कतिपयलाई रिस उठायो, जसका कारण पछि उनीहरूले खुलेरै पवित्र आत्माको कार्यको खिल्ली उडाए (प्रेरित २:६-१३)।
तर, प्रेरित २:६ ले परमेश्वरलाई अराजकताका स्रोतका रूपमा चित्रण गरिरहेको छैन। बरु, यसले देखाउँछ कि हामीले सामान्यतः कल्पना गर्ने अनुशासन र स्वर्गीय अनुशासन फरक हुन सक्छ। जब हामी कुनै नयाँ वा अनपेक्षित घटनाबाट अचम्मित वा अलमलिन्छौँ, हामीले त्यसलाई केवल आफ्नै अनुभवका आधारमा अस्वीकार गर्न सक्दैनौँ। केवल घमन्डी मनले मात्र आफूले नबुझेको कुरा आलोचना गर्न हतार गर्छ! त्यसैले, हामीले सबै कुरा शास्त्रको आधारमा परीक्षण गर्नुपर्छ (१ थेस्लोनिकी ५:२१)।
जागृति र केस्विक सम्मेलन:
यस जागृतिले सिकाएका पाठहरूले एन्ड्र्यु मरेलाई केस्विक आन्दोलनमा नेतृत्व गर्न तयारी गराए। उनले सन् १८८२ मा पहिलो पटक केस्विक सम्मेलनमा भाग लिए। पछि, १८९५ मा उनलाई केस्विक र नर्थफिल्ड सम्मेलनमा प्रवचन दिन बोलाइयो। यी सम्मेलनहरूमा उनी अत्यधिक स्वागत गरिए र अन्ततः उनले दक्षिण अफ्रिकामा केस्विक आन्दोलन विस्तार गरे।
केस्विक सम्मेलनले युरोपेली पवित्रताको आन्दोलनलाई एकजुट गर्दै “तेस्रो महान् जागृति” को ऊर्जा र आगोको प्रवाहलाई सही मार्गमा लग्यो। तर, यस सम्मेलनले मात्र अघिल्लो जागृतिको फल सुरक्षित गरेको थिएन, यसले आगामी पुस्तालाई अर्को जागृतिका लागि तयारी गरायो।
सन् १९०२ को केस्विक सम्मेलनमा पाँच हजार इसाईहरूले विश्वव्यापी पवित्र आत्माको बाहुल्यका लागि प्रार्थना समूहहरू गठन गर्ने सहमति गरे। यी प्रार्थनात्मक प्रयासहरूको फल सन् १९०४ को वेल्श जागृतिमा प्रकट भयो। आर. बी. जोन्स, जेसी पेन्न-लुइस, र एफ. बी. मायर जस्ता अगुवाहरूले केस्विक सम्मेलनलाई वेल्श जागृतिका गुप्त प्रेरणास्त्रोतहरू मध्ये एक मानेका थिए।
केस्विक आन्दोलनका प्रवचनकर्ताहरू – एन्ड्र्यु मरे, जे. एल्डर कमिङ, इभान हप्किन्स, एफ. बी. मायर, आदिले हजारौँ इसाईहरूलाई पवित्र जीवन र आत्माले भरिएको जीवनतर्फ प्रेरित गरे। जेम्स हडसन टेइलर, ए. टी. पिअर्सन, र सामुएल ज्वेमर जस्ता प्रख्यात मिसनरी अगुवाहरूले केस्विक सम्मेलनलाई “सबैभन्दा उत्कृष्ट मिसनरी भर्ती स्थल” को रूपमा लिएका थिए। यसरी, एक पुस्ताको आत्माले भरिएको सेवाले अर्को पुस्ताको जागृतिलाई पानी हाल्ने काम गर्यो।
एन्ड्र्यु मरेको अन्तिम दिनहरू:
सन् १९१७ को जनवरी १८ मा, एन्ड्र्यु मरे आफ्नो विश्राममा प्रवेश गरे। उनी पृथ्वीमा जसरी बाँचिरहेका थिए, प्रार्थना गर्दै र अरूलाई प्रार्थना गर्न प्रेरित गर्दै, त्यसै गरी स्वर्गको यात्रा गरे।
आत्माले भरिएको जीवनको लागि एन्ड्रयू मरेले भन्दा धेरै आत्माहरूलाई प्रभाव पारेकाहरू कमै छन्। एन्ड्र्यु मरे मण्डली इतिहासका सबैभन्दा प्रभावशाली लेखकहरू मध्ये एक थिए। सन् १८५८ देखि १९१७ को बिचमा, उनले झण्डै २४० पुस्तकहरू प्रकाशित गरे। यी मध्ये केही पुस्तकहरू पन्ध्रभन्दा बढी भाषाहरूमा अनुवाद गरिएका छन्।
चिनियाँ “क्रिश्चियन लिटरेचर सोसाइटी” ले श्रीमान् मरेको पुस्तक ‘द स्पिरिट अफ क्राइस्ट’ लाई चिनियाँ भाषामा अनुवाद गरेको केही समय पछि, भित्री चिनियाँ क्षेत्रहरूमा जागृति फैलिएको बताइएको छ।
आज पनि, उनका लेखहरूले प्रार्थना र आत्माले भरिएको जीवनबारे इसाईहरूको सोचलाई निरन्तर आकार दिइरहेका छन्।
Translated from an article by David Smithers.